पोखरा ।  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज वैशाख २७ गते शनिवार १ हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ ।  बिहान ९ बजे देखि सुरु हुने यो कार्यक्रममा तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई बिहान १० बजे सम्मान गर्ने तयारी भएको छ ।

 शनिवार चर्चित लोकगायक पशुपति शर्मा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन तथा विशेष साङ्गीतिक कार्यक्रम र आइतबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको प्रस्तुति रहने छ ।

कोटिहोममा शुक्रवार साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रह्यो । कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लगायत पोखरेली चेली चर्चित गायिका समीक्षा अधिकारीको सँगै लोकदोहोरी गायिका पार्वती जिसीको उपस्थिति सहित प्रस्तुती राखेका थिए । शुक्रबार प्रमुख अतिथिको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा अमात्य रहेकी थिइन् । 

कोटिहोममा टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी सहित १५ जना विशिष्ट व्यक्ति र १ सय जना विद्यार्थी स्वयंसेवीको रूपमा आएका छन् । सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत बिसीको भजनको भिडियो विमोचन गरि २५ हजार रुपैयाँ दान गरेका छन्। यसै गरि पोखरा महानगरपालिका वडा न १६ स्थित हरिलक्ष्मी गुरुङद्वारा १ लाख १ सय ५ रुपैयाँ, पोखरा महानगरपालिका वडा न ६ स्थित कमला गिरि द्वारा १ लाख २१ हजार र धार्मिक सेवा समिति मौलाकालिका मन्दिरबाट २५ रुपैयाँ सहित अन्य ब्यक्तिबाट दान प्राप्त भएको छ। महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले कोटिहोममा साधु, सन्त, महन्तहरूको दर्शन, प्रवचन, आशीर्वाद तथा सङ्घीय प्रदेश सरकारका मन्त्री तथा सांसद, राजनीतिक दलका नेता तथा समस्त भक्तजनको उपस्थितिले महायज्ञ सफल भइसकेको बताए । 

कोटिहोममा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । बैशाख २९ गते चौरासी पूजन कार्यक्रम गरिने भएकाले आमाबुवाहरूको उपस्थितिमा, सवा करोड पार्थिव शिवलिङ्गको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

 त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ । 

कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए । कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता, खुला रक्तदान कार्यक्रम चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी रहेको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0