पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कार्यालय समयमा प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने वडाध्यक्षबाट कर्मचारीलाई हातपात भएपछि पोखरा महानगरका कर्मचारी आन्दोलनमा उत्रेका हुन्। पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले प्रशासन महाशाखामा कार्यरत कर्मचारी ईश्वरी प्रसाद पोखरेलमाथि हातपात भएको भन्दै उक्त घटनाको विरोधमा कर्मचारीले कलम बन्द गरी आन्दोलन गरेका हुन् ।
मङ्गलबार बिहान पौने १२ को समयमा भएको घटनाप्रति महानगरपालिकामा क्रियाशील कर्मचारी सङ्गठनले विरोध जनाएका छन् । घटना पश्चात २४ घण्टा भित्र कानून बमोजिमको कारवाहीको माग गर्दै नगर प्रमुख समक्ष ध्यानाकर्षण गराउँदा समेत माग सम्बोधन नभएको भन्दै उनीहरु कलम बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । महानगरपालिका कार्यालय, महाशाखा र वडाहरूमा समेत कामकाज ठप्प पारिएको उनीहरूको भनाइ छ । वडाध्यक्ष पराजुली उपर कारवाहीको प्रक्रिया अगाडि नबढेसम्म आन्दोलनका कार्यक्रम जारी रहने कर्मचारी सङ्गठनहरूले जनाएका छन् ।
कर्मचारीहरूको आन्दोलनका कारण काम प्रभावित हुँदा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन् । पोखरा महानगरपालिकामा क्रियाशील स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी सङ्घ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालको अग्रसरतामा आन्दोलन भएको हो । बुधबार महानगर प्रमुख धनराज आचार्य कार्यालयमा अनुपस्थित भएको कारणले बिहीबार बिहान मात्र वार्ता हुने भएको बताइएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन पोखरा महानगरपालिका अध्यक्ष नेत्र प्रसाद तिमिल्सिनाले आफूहरूले दिएको २४ घण्टाको अल्टिमेटममा केही पनि सुनुवाइ नभएपछि काम ठप्प पारेर आन्दोलन गर्नुपरेको भन्दै यसबाट सेवाग्राही प्रति परेको असर प्रति भने क्षमा मागेका छन् । पहिला आफू सुरक्षित भए मात्र सेवाग्राहीहरूलाई सेवा प्रदान गर्न सकिने उनको भनाइ छ । जनप्रतिनिधि प्रति आशावादी भएकै कारणले घटना घटेपछि पनि संयमित भएको बताएका उनले वडाध्यक्ष गल्ति महसुस गरेर माफी माग्ने र काम गर्ने उचित वातावरण बनाउनुपर्ने बताए । अन्यथा काममा फर्कन नसकिने उनले खुलाए ।
स्थानीय तह कर्मचारी सङ्घ पोखरा महानगरपालिकाका अध्यक्ष रेशम जिसीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा कर्मचारी माथि वडाध्यक्षले हातपात गर्नु सामान्य विषय नभएको बताए । उनले यो विषयमा सहमति नभइन्जेलसम्म काम ठप्प पारिने खुलाएका छन् । जसले गल्ती गर्यो उसलाई कारवाही गर्नुपर्छ भन्ने आफूहरूको माग रहेको उनको भनाइ छ । माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम गर्ने उनले चेतावनी दिए ।
वडाध्यक्ष पराजुलीले मङ्गलबार नै पोखरा उद्योग वाणिज्य संघका पुर्वकार्यसमिति सदस्य समेत रहेका पन्थिगल्लिका कस्मेटिक व्यवसायी लेखनाथ सुवेदी माथि मुक्का प्रहार गरेको भन्दै व्यवसायिले विरोध गरेका थिए ।
