चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि लिएको सङ्कल्प पुरा भएको बताएकी छन् । होटल व्यवसायी सङ्घ चितवनको २८ औ साधारण सभालाई सम्बोधन गर्दै प्रमुख दाहालले भ्रमण वर्षको अवसरमा पर्यटन प्रबर्द्धन हुने महत्वपूर्ण काम गरेको उल्लेख गरिन् ।
भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रमार्फत पाटे बाघ हेर्ने सुविधा, भारतीय पर्यटकलाई सहज आवागमनका लागि ठोरी भन्सार सञ्चालन, दियालो बङ्गला दरबार सर्वसाधारणका लागि खुला गरिएको प्रमुख दाहालले बताइन् ।
भ्रमण वर्षमा थप पर्यटक भित्र्याउन कात्तिक महिनामा एक हप्ते धार्मिक महोत्सव गर्न लागिएको उनले उल्लेख गरिन्। यसको संयोजन देवघाट क्षेत्र विकास समिति र संरक्षकमा भरतपुर महानगर रहने उनको भनाई छ ।
यस्तै भ्रमण वर्षको समापनमा खाना महोत्सव गर्ने क्यालेण्डर तय भएको प्रमुख दाहालले बताइन् । यस्ता गतिविधिले प्रत्यक्ष रुपमा यहाँका होटल व्यवसायीलाई टेवा पुग्ने उनले बताइन् । बजार क्षेत्रको पार्किङको समस्या समाधान गर्न यहाँका स्थानीय र महानगरको समन्वयमा स्थानको खोजी गर्नुपर्ने उनले बताइन् । यसअघि महानगरले पार्किङ स्थलको व्यवस्थापन गरेको भएपनि सञ्चालनमा कठिनाइ आएको स्मरण गरिन्।
होटल व्यवसाय सङ्घका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले पर्यटन ऐन संशोधन नहुदाँ नेपालका १० औं हजार होटेल व्यवसायी मर्कामा परेको उल्लेख गरे । उनले चितवनका २०० बढी होटल पर्यटनमा दर्ता हुने क्रममा रहेको जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै होटल व्यवसायी सङ्घ चितवनका पूर्व अध्यक्ष इमान्दु बरालले बजारका होटलहरू २४ घण्टा खुला चल्ने व्यवस्था गरिदिन अनुरोध गरे। व्यवसायीलाई एकद्वार प्रणालीबाट कर तिर्ने वातावरण बनाइदिन उनले आग्रह गरे।
कार्यक्रममा भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव महर्जन, उवा सङ्घ चितवन कार्यवाहक अध्यक्ष चिरञ्जीवी सुवेदी, घरबहाल उपभोक्ता मञ्च चितवन अध्यक्ष जनकलाल कट्टेलले मन्तव्य राखेका थिए। कार्यक्रम संस्थाका अध्यक्ष लोकनाथ भट्टको अध्यक्षतामा सम्पन्न भएको हो ।