पोखरा । पोखरा बाट सञ्चालन हुने परिचय डटकमका फोटो पत्रकार एवम् इभेन्ट पोखराका सञ्चालक प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल एनएफपीजे ले आफ्नो ५ औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड कार्यक्रममा उनले अवार्ड प्राप्त गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले प्रशंसा पत्र र अवार्ड हस्तान्तरण गरे ।  उत्कृष्ट ५ मनोनयनमा परेका विष्णु गौतम, खिम लामिछाने, किरण आचार्य, सागर गिरीलाई उछिन्दै थापाले अवार्ड हात पारेका हुन् ।

उक्त फोटोपत्रकारिता विधाको निर्णायकमा प्रदिपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सूर्यज्योति लाइफ इन्सुरेन्सका ब्रान्डिङ एण्ड कम्युनिकेसन प्रमुख मेघेन्द्र प्रकाश गिरी, प्रज्ञा वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दाहाल थिए । उनीहरूको नजरमा प्रेमको फोटो परेको हो ।अवार्ड प्राप्त गरिसके पछि प्रेम खुशी देखिन्छन । मिहिनेतको प्रतिफल मिलेको अभिव्यक्ति उनको छ । आगामी समयमा समेत फोटो पत्रकारितालाई निरन्तरता दिँदै जाने प्रतिबद्धता उनले गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि सभामुख घिमिरेले फोटो पत्रकारिता लोकतान्त्रिक समाजको महत्वपूर्ण अङ्ग भएको बताउँदै फोटो पत्रकारिताले देशको वास्तविक ऐना प्रस्तुत गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।  घिमिरेले प्रजातन्त्र, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रमा पत्रकारिता मात्र नभई फोटो पत्रकारिताले पनि उल्लेखनीय योगदान पुर्‍याएको स्पष्ट पारे।

कार्यक्रमका विशिष्ट अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अप्ठेरो परिस्थितिमा समेत फोटो पत्रकारहरूले निष्पक्ष ढङ्गले सत्य उजागर गर्ने कार्य गरेको प्रशंसा गरे। उनले शब्दलाई बंग्याएर राख्न सकिएला तर फोटो पत्रकारिताले निष्पक्षतापूर्वक दुष्प्रचारलाई खण्डन गर्ने क्षमता राख्ने बताए । प्रेम यसअघि ललितकला प्रज्ञा प्रतिष्ठानबाट प्रादेशिक ललितकला प्रदर्शनी २०८० बाट सम्मानित भएका थिए । थापा यसअघि पनि एनएफपीजेले नै आयोजना गरेको फोटो पत्रकारिता अवार्डबाट सम्मानित भइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0