पोखरा । पोखरामा शनिबार सम्पन्न भएको प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ४ जिल्लाका ६९ जना लाभान्वित हुनु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा भएको उक्त कार्यक्रमबाट कास्की सहित ४ जिल्लाका ६९ जना लाभान्वित भएको प्रा.लि.ले जनाएको छ । 

पोखरा नयाँबजारमा सञ्चालनमा आउँदै गरेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राङ्गणमा सञ्चालन भएको उक्त शिविरमा कास्की सहित, पर्वत, लमजुङ, र बागलुङका गरी ४ जिल्लाका सेवाग्राहीहरूले सेवा प्राप्त गर्नु भएको कार्यक्रम संयोजक दीननाथ बरालले बताए । उक्त शिविरमा नेपाल कै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ डा. धर्मागत भट्टराईबाट गण्डकी प्रदेशमै पहिलो पटक पोखरामा ल्याएर शिविर सञ्चालन गरिएको प्रालि.का अध्यक्ष समेत रहेका संयोजक बरालले जनाए । शिविरमा डा.भट्टराईको साथमा पोखरा महानगरपालिका शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र नयाँ बजार पोखराका डा.विशाल सुवेदी, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका डा. रामजी प्रसाद बरालले समेत सहयोग गरेका थिए। कार्यक्रममा अस्पतालका केही स्टाफ नर्सको साथमा स्वास्थ्यकर्मीको समेत सहयोग रहेको थियो । 

पोखरा सहित गण्डकी प्रदेशमा पनि बालबालिकामा देखिने समस्याको पहिचानमा असहजता डरलाग्दो रहेको उल्लेख गर्दै उनले त्यसलाई मध्यनजर गर्दै प्रतिरक्षा तथा बाल बाथरोगको पहिचानमा देखिएका समस्या, रोग पहिचान पछि निदानमा आइपर्ने बाधा व्यवधानका बारेमा यस क्षेत्रका जनसमुदायलाई सुसूचित गर्न सकियोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए ।
डा.भट्टराईको प्रत्यक्ष परामर्शमा बिहान ९ः३० बजेदेखि दिउँसो ३ः१० बजेसम्म उक्त शिविर सञ्चालन भएको असफल गौतमले बताए । शिविरमा आउने सेवाग्राहीलाई हस्पिटलको प्रयोगशालामा मधुमेह र पिसाब निःशुल्क परीक्षणको सुविधा समेत अस्पतालले उपलब्ध गराएको थियो । शिविरमा डा.भट्टराईका नियमित बिरामी देखि अन्य नयाँ एवं सहारा एकेडेमीका बालकहरू समेत सहभागिता रहेको प्रालि.का व्यवस्थापक जया पौडेलले बताइन् । 

पर्वतका सन्दिप पौडेलका छोराको स्वास्थ्य परीक्षणबाट उक्त शिविरको प्रारम्भ भएको थियो । यसैबिच, उक्त अवसरमा पोखरा क्लिक प्रा.ल.ले डा.भट्टराईलाई सम्मान गरेको छ । नेपालमा बाल बाथ र इम्यूनोलोजीका बिरामीहरूको रोग पहिचान र यसको सचेतना जगाउने अभियानमा लागेका डा. भट्टराईलाई हौसला र प्रोत्साहन स्वरुप प्रा.लि.ले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, कार्यक्रम संयोजक बरालले डा. भट्टराईलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरे ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष मर्सानीले पत्रकार बरालले आफ्नो छोरीको उपचारमा पाएको दुःख र हैरानीले आफुहरुलाई समेत मन छोएको स्मरण गर्दै आफ्नो वडामा बाल बाथ रोगीका बिरामी भए भए उनीहरुको लागि केही सहयोग गर्ने प्रतिवद्धत्ता व्यक्त गरे । सरकारले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउदै आएको सन्दर्भमा अब बाल बाथ रोगीका बिरामीहरुलाई समेत उचित राहत उपलब्ध गराउनु पर्ने उनले जनाए। अध्यक्ष मर्सानीले डा.भट्टराई जस्ता बिशिष्टिकृत चिकित्सक भगवानको अवतारको रुपमा रहेको उल्लेख गरे । 

डा. भट्टराईले गण्डकी प्रदेशमै पहिलो पटक बाल बाथ रोग सम्बन्धि शिविर आयोजना हुनुले यस क्षेत्रका प्रतिरक्षा तथा बाल बाथ रोगका बिरामीहरूको थप पहिचान र सचेतना जगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त रोगको पहिचान गर्न बृहत सचेतना आवश्यक भएको दाबी गर्दै उनले राज्य पक्षले यस रोगको बारेमा अनविज्ञ रहेको जनाए । देशका विभिन्न ठाँउ हुदै युरोप अमेरिकासम्म आफ्नो बिशिष्टिकृत सेवा सहित प्रशिक्षण गराउदै आएका डा.भट्टराईले आफ्नो लागि नेपालका मन्त्रालयहरुको ढोका भने बन्द रहेको गुनासो गरे । यस्ता रोगहरुको समयमै निधान गरेर नियमित औषधि सेवन गरे निको हुने तर व्यवास्था गरे अंग भंग भई अकालमै मृत्यु समेत हुन सक्ने उनको भनाई थियो । 

अस्पतालका अध्यक्ष शिव पोखरेलले पोखरामा विशिष्टिकृत अस्पतालको सेवा सुरु गर्न उक्त अस्पताल सञ्चालनमा ल्याउन लागेको बताए । डा.भट्टराई जस्ता बिशिष्टिकृत चिकित्सकहरु अब म्याक्स सुपर स्पेसियालिटी हस्पिटलमा उपलब्ध हुने गरी सेवा संचालनको अन्तिम चरणमा रहेको उनले जनाए । समुदाय र सिङ्गो राज्यलाई सुसूचित गराउनुका अलावा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक गतिविधि समेत सञ्चालन गर्दै आएको प्रालिसँग सहकार्य गरेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको हस्पिटलका अध्यक्ष पोखरलले उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0