पोखरा । शास्त्रीय सङ्गीत समाज नेपाल, गण्डकीको आयोजनामा क्लासिकल कन्सर्ट: सोउल अफ स्ट्रिङ्स सम्पन्न भएको छ। शास्त्रीय सङ्गीत समाज नेपाल, गण्डकीका अध्यक्ष श्यामलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम पोखरा थिएटरको गन्धर्व नाटक घरमा भएको हो। 

भारतका प्रसिद्ध भायलिन वादक पण्डित मैसुर मञ्जुनाथ र उनकी सुपुत्री मालवी मञ्जुनाथलाई आमन्त्रण गरिएको यस कार्यक्रममा राग हंसध्वनी बाट उनीहरूले आफ्नो प्रस्तुतीको शुभारम्भ गरे। लगत्तै, राग दरबारी, राग केदार र रघुपति राघव भजन प्रस्तुतीले थिएटर गुञ्जायमान मात्र भएन दर्शक/श्रोताको वाहवाही पाउन पनि सफल भयो।

सङ्गीतको आनन्द लिन रुचाउने पोखरेली दर्शकलाई मन्त्रमुग्ध तुल्याउन सुमधुर भायलिन वादनलाई तबला बादक परशुराम पौडेल; उपप्राध्यापक, ललित कला क्याम्पस र अनन्त प्रजापति; उपप्राध्यापक, ललितकला क्याम्पस ले तबला वादनमा साथ दिए। तबलाको सोलो वादन पनि रहेको सुन्दर कार्यक्रमले पोखरेली श्रोतामा अमेट छाप छोड्ने आशा , संस्थाका उपाध्यक्ष नवराज बरालले स्वागत मन्तव्यका क्रममा प्रकट गरे । स्वागतार्थ, पोखराको स्थानीय लोक धुन समूह सयपत्री ब्यान्डले लोक धुन पस्किएको यस कार्यक्रमको सञ्चालन संस्थाका सचिव एम्.डि काफ्ले गरेका थिए।

भारतको कर्णाटक सङ्गीतका ज्ञाता भायलिन वादक द्वयको प्रशंसा गर्दै कसरी नेवारी संस्कृतिको ताल बाजा ‘खिं’ र दक्षिण भारतीय ताल बाजा ‘मृदङ्ग’ मा सामञ्जस्यता छ र यस्तै समानताले एक अर्कामा अपनत्व महसुस हुने कुरा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले आफ्ना भनाइका क्रममा राखे । काठमाडौँ संयोजन नेपालकै प्रसिद्ध भायलिन वादक यतिराज अधिकारीले गरेको यस कार्यक्रमको क्षत्रीय संयोजन पोखराका वरिष्ठ तबला वादक परविन्दर सिहंले गरेका थिए। 

यस्ता क्लासिकल कन्सर्ट अझ धेरै नियमित रुपमा सञ्चालन हुनुपर्ने र भ्रमण वर्षको नारा बोकेको पोखराले यस्तै कार्यक्रम आयोजना गरी ‘सांस्कृतिक हब’ बन्न सबैले होष्टेमा हैँसे गर्नुपर्ने कुरा आयोजकका तर्फबाट अध्यक्ष श्यामलाल श्रेष्ठले गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0