पोखरा । पोखरामा भदौ ८ गते शनिबार हुने ताया: मचा नृत्य प्रतियोगिता २०८१ को सम्पूर्ण तयारी सकिएको छ । नेवाः खलः कास्कीद्वारा गाईजात्रा पर्वको अवसरमा गरिने नियमित कार्यक्रम यसवर्ष नयाँबजार सांस्कृतिक समितिको आयोजनामा हुन लागेको हो । प्रतियोगितामा २८ वटा टोलीको सहभागिता रहने र ती सबै टोलीहरूलाई नाच प्रस्तुतीको समय निर्धारण गरेर बोलाइसकिएको समितिका अध्यक्ष योगेन्द्रमान बाटाजुले जानकारी दिए ।
प्रतियोगिता गण्डकी प्रदेश सङ्ग्रहालय रोड, शिव गणेश मार्गमा बिहान ८ बजेबाट सुरु हुने छ ।यसअघि गत साउन २५ गते सहभागी हुने टोलीहरूको प्रस्तुतीको समय गोलाप्रथाबाट निर्धारण गरिएको थियो।
नेवा खलः कास्कीको आह्वान तथा नयाँबजार सांस्कृतिक समितिको आयोजनामा हुने प्रतियोगिताको लागि पोखरा महानगरपालिका वडा नं. ९ को कार्यलयले सहयोग गरेको छ ।
प्रतियोगिताको बिजेतालाई ३ लाख १ रुपैयाँ, द्वितीय हुनेलाई २ लाख १ रुपैयाँ, तृतीय हुनेलाई १ लाख १ रुपैयाँ प्रदान गरिने छ । त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजारसहित प्रमाणपत्र प्रदान गरिने छ ।
करिब २५० वर्ष पुरानो इतिहास बोकेको गाईजात्रा पर्वको अवसरमा तायाः मचा नृत्य प्रतियोगिता गर्न लागिएको हो । परापूर्व कालदेखि प्रचलनमा रहेको तायाः मचा संस्कृतिको संरक्षण गर्नु, परम्परागत, मौलिक संस्कृतिको माध्यमबाट आन्तरिक र वाह्य पर्यटनलाई आकर्षण गर्नुको साथै नयाँ पुस्तालाई यसको महत्व बुझाई यसको निरन्तरताको बोध गराउनु प्रतियोगिताको मूल उद्देश्य रहेको प्रचार प्रसार संयोजक अनिशा श्रेष्ठले बताएकी छन् ।