पोखरा । पोखरा महानगरपालिका वडा नं‍. १७ मा वैशाख १७ गतेदेखि जेठको २६ गते सम्म हुने श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमि पूजन बुधबार सम्पन्न भएको छ ।  बिहान ११ बजेर १ मिनेटमा दीप प्रज्वलनसहित भूमि पूजन गरिएको हो । महायज्ञका लागि बुधबारदेखि नै मूल हवन कुण्ड खन्ने काम सुरु भएको छ ।  बिहान ११ बजेर ११ मिनेटमा मूल हवन कुण्ड खन्न सुरु गरिएको आयोजक मानवसेवा फाउण्डेसनका संस्थापक विजय कृष्णमूर्तिले बताए । 

भूमिपूजन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं १७ का वडाअध्यक्ष राधिका शाही योगीले लामो समयसम्म महायज्ञ कहाँ गर्ने भन्ने अन्योलका बीच आफ्नो संयोजकत्वमा वडा नं १७ स्थित हरिहर मन्दिरको जग्गामा महायज्ञ गर्ने निर्णयमा पुगेको स्मरण गरिन् । पोखरा १७ मा शतसयकुण्डीय कोटिहोम हुनु गौरवको विषय भएको उनको भनाई छ । 

विश्व हिन्दु महासङ्घका बरिष्ठ उपाध्यक्ष शङ्कर खरालले नेपालका आध्यात्मिक व्यक्ति योगी नरहरिनाथको सङ्कल्पमा निर्मित हरिहर मन्दिरमा कोटिहोम गर्न पाउनु गौरवको विषय भएको बताए । यति विशाल कोटिहोम न विगतमा भएको थियो र न अब हुनेछ भन्दै कोटिहोममा सहभागी हुन पोखरेलीलाई आग्रह गरे ।

महायज्ञमा बुधबार कथाबाचक बाल विदुषी अनुराधा पाण्डेयले कथावाचन गरेकी छन् । संस्थापक विजय कृष्णमूर्तिका अनुसार महायज्ञको लागि बिहीबार देवी प्रतिभा पोखरा आउनेछन् । उनले बैशाख ५ गते शुक्रबारबाट कथावाचन गर्नेछिन् । गत चैत्र १७ गते देखि नै कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन लगायत अन्य कोटिहोम महायज्ञको प्रचारप्रसारका कार्यक्रमहरू भइरहेको छ ।  कोटिहोमकै अवसरमा राष्ट्रिय भजन प्रतियोगिता समेत हुँदैछ । 

बैशाख ११ गते वृहत साइकल प्रभातफेरी, बैशाख १२ गते वृहत ट्याक्सी प्रभातफेरी, बैशाख १३ गते वृहत मोटरसाइकल प्रभातफेरी, बैशाख १४ गते वृहत डुङ्गा प्रभातफेरी, बैशाख १५ गते वृहत पैदल यात्रा, बैशाख १६ गते वृहत मङ्गलमय कलश यात्रा हुनेछ ।

कोटिहोम महायज्ञको पूर्वाङ्ग बैशाख १७ गते बिहान गरिनेछ । बैशाख १९ गतेबाट हवनात्मक कार्य प्रारम्भ गरिनेछ भने सोही दिन अग्नि मन्थन, अग्नि कुण्डमा अग्नि प्रवेश गराउने, अग्निमा समिधा दान, अग्नी कुण्णमा आहूति प्रदान गरिनेछ ।  जेठ २६ गते कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरि अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्य गरिने आयोजक श्री मानव सेवा फाउण्डेसन नेपाल पोखराले जानकारी दिएको छ । महायज्ञ पोखरा १७ बिरौटामा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर क्षेत्रमा आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0