पोखरा । अङ्ग्रेजी नयाँ वर्षमा निर्वाध रुपमा आतिसबाजी लगायतका गतिविधि गर्न दिएको जिल्ला प्रशासन कार्यालय कास्कीले नेपाली नयाँ वर्षमा भने कडाइ गर्ने भएको छ । प्रशासन कार्यालय कास्कीले शुक्रबार एक सूचना प्रकाशन गरेर नयाँ वर्ष  मनाउने क्रममा पटका, आतिसबाजी, झरझरे, भुइँचम्पाजस्ता विस्फोटक पदार्थ प्रयोग नगर्न र निकासी, ओसारपसार तथा बिक्री वितरण नगर्न अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले  जारी गरेको सूचनामा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी नयाँ वर्षको अवसरमा आयोजना गरिने उत्सव, महोत्सव, कन्सर्ट, संस्कृतिलगायतको कार्यक्रम गुनासोरहित तवरले सञ्चालन गर्न आग्रह गरेका छन् । यस्तै प्रकृतिको आग्रह तिहारको समयमा गरिएको थियो । तर, सबैभन्दा बढी भिड हुने अङ्ग्रेजी नयाँ वर्षमा चराचुरुङ्गी र वातावरणमा असर पर्ने गरी  आतिसबाजी लगायतका गतिविधि भने निर्वाध रुपमा गर्न दिइएको थियो ।

 शुक्रबार प्रशासनले प्रकाशन गरेको सूचनामा सार्वजनिक यातायात, आवतजावत र जनजीवनलाई असर नपर्ने गरी मर्यादित, अनुशासित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्न गराउन पनि  भनेको छ ।  मादक पदार्थको सेवन गरी सवारी साधन नचलाउन, एवं सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवं झैझगडा गर्ने जस्ता काम नगर्न पनि उल्लेख छ । समाजमा अशोभनीय हुने क्रियाकलापहरू एवं कानून विपरीतका अन्य गतिविधि नगर्नु नगराउनु भन्दै प्रशासनले यो सूचनाको अवज्ञा गरेमा कानून बमोजिम कारवाही हुने प्रष्ट पारेको छ ।

सामाजिक सद्भावलाई थप अभिवृद्धि गर्दै, वातावरण स्वच्छतालाई समेत प्रवर्द्धन गरी जिल्लामा शान्ति सुरक्षा एवं अमनचयनको अवस्थालाई सामान्य तुल्याई राख्न सबै समक्ष कास्की प्रशासनले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0