पोखरा । वरिष्ठ संस्कृतिकर्मी एवम् नृत्य निर्देशक, हिमाली सांस्कृतिक परिवारका पूर्व अध्यक्ष मेनकाजी गुरुङको ६१ औं जन्मजयन्तीमा भदौ ८ गते पोखरामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने भएको छ। हिमाली सांस्कृतिक परिवारद्वारा पोखरा सभा गृहमा आयोजना गरिएको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको परिवारका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो ३० हजार, तेस्रो २० हजार, सान्त्वना १० हजार र उत्कृष्ट नृत्य निर्देशकलाई १० हजारसहित ट्रफी, मेडल, प्रमाण पत्रबाट पुरस्कृत गरिने कार्यक्रम संयोजक हिमाली सांस्कृतिक परिवारका उपाध्यक्ष श्रीजङ्ग गुरुङले जानकारी दिए।
लोकसंस्कृतिप्रति स्वर्गीय गुरुङको योगदानको स्मरण गर्दै जन्मजयन्तीको दिन वार्षिक लोक संस्कृति संरक्षण र स्रष्टा सम्मानका लागि हिमाली सांस्कृतिक परिवारले मेनकाजी गुरुङ स्मृति अक्षयकोष समेत स्थापना गरेको छ ।