पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताले सङ्घर्षबाट प्राप्त गरेको उपलब्धीहरूलाई रक्षा गर्नको लागि एमालेले देशभरी नै खबरदारी सभा आयोजना गरिरहेको बताएका छन् । नेकपा एमाले कास्कीले शनिबार पोखरामा आयोजना गरेको बृहत् जागरण सभामा बोल्दै उनले यो खबरदारी मुलुकलाई अनिर्वाचित सत्तातर्फ लैजान चाहने दुष्प्रयत्न विरुद्धमा भएको उल्लेख गरे । अब देशव्यापी रुपमा नयाँ कार्यक्रम मार्फत जनतामाझ जाने एमालेको तयारी रहेको समेत उनले जनाए । एमालेलाई कमजोर बनाउनका लागि अनेकौँ प्रहार भैरहेको भन्दै त्यसलाई चिर्नको लागि यी कार्यक्रमले भूमिका खेल्ने उनको विश्वास छ । मुलुकलाई अस्त व्यस्त बनाउने खेल सुरु हुन लागेकोले यसको विरुद्धमा खबरदारी आवश्यक पर्नेमा उनको जोड थियो । आन्दोलनमा रहेका शिक्षकहरूको मागलाई आउने बर्खे अधिवेशनमा पहिलोचरणमै शिक्षा विधेयक ल्याएर पास गर्ने दावी गरे ।  

वरिष्ठ उपाध्यक्ष पोखरेलले दुईवटा उद्देश्य लिएर एमाले र काँग्रेसबीचको सत्ता समीकरण बनेको बताएका छन् । सरकारको स्थायित्वको लागि समीकरण बनेको बताएका उनले म्याजिक नम्बरबाट सरकार बनाउने फोहोरी खेल खेल्न नदिन र मुलुकलाई अधोगति तर्फ जान नदिनको लागि सहकार्य भएको प्रष्ट पारे । 

एमाले स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले एमालेको अभिष्ट सत्ता नभएको बताए । कुर्ची पद पावर नभएर मुलुकमा राजनीतिक स्थायित्व सुशासन कायम हुनुपर्छ भन्ने आफूहरूको अभिष्ट रहेको उनले खुलाए । त्यतिमात्र नभएर विकास अगाडि बढाउदै समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आँकाक्षा एमालेको रहेको उल्लेख गरे । सङ्घीय लोकतान्त्रीक गणतन्त्रलाई बलियो बनाउनुपर्ने भन्दै यसको कुनै विकल्प नभएको दावी गरे । सङ्घीय लोकतान्त्रीक गणतन्त्रै मुलुकको राष्ट्रिय एकता रहेको स्पष्ट पारे । दुर्गा प्रसाईँ, रविन्द्र मिश्र लगायतलाई प्रयोग गरेर राजतन्त्र फर्कने सपना नदेख्न उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिए । यस्ता गतिविधि गरेमा जनताले माफ नगर्ने र देशबाटै निकाल्ने उनको चेतावनी थियो । 

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले गण्डकी प्रदेशमा छिट्टै गुरुङ र मगर भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन लागिएको तथा उत्पिडित समुदायको विशेष अधिकारको सुनिश्चितता गर्ने कानुन बनाउन लागिएको जानकारी दिए । यसका अलावा अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्ने कानुन बनाउन लागिएको खुलाए । यो जागरण सभा रहेको र विरोध सभा नभएको उनले प्रष्ट पारे । विरोध सभाको रूपमा उभिन परेको खण्डमा कस्केली जनताले प्रतिगमनकारीलाई ठाउँका ठाँउ घुँडा टेकाउने दावी उनले गरे । अहिले सहिष्णुता पूर्वक आफ्ना सन्देश प्रवाह गर्न लागिएको उल्लेख गरे । 

एमाले स्थायी कमिटी सदस्य थममाया थापाले विकास निर्माणका कार्यहरू बहुदल आएपश्चात मात्र तीव्र गतिमा हुन सकेको बताइन् । आर्थिक तथा सामाजिक रुपान्तरणका काम जनताले अनुभूति हुने गरी गर्नको लागि राजनीतिक स्थिरताको आवश्यकता पर्ने उनले औल्याइन् । आगामी निर्वाचनबाट एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने सपना पुरा गर्ने सबै एकजुट हुनुपर्नेमा जोड दिइन् । 

एमाले केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कृष्ण थापाले कास्कीमा विगतदेखि नै एमालेको विरासन रहेकोले त्यसलाई कमजोर बन्न नदिने बताए । प्रतिक्रियावादीलाई टाउको उठाउन नदिने बताएका उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काननूनको कठगारामा ल्याउन सरकारसँग माग गरे । 

नेकमा एमाले कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भेषराज बराल र सञ्चालन सचिव दर्शन लामाले गरेका थिए । सभा अगाडि पोखराको नदिपुर, रानीपौवा र सभागृहचोबाट एकसाथ र्‍याली निकालिएको थियो । र्‍यालीले विभिन्न ठाउँको परिक्रमा गरेर मानवअधिकारचोक चिप्लेढुङ्गामा पुगेपछि सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0