पोखरा । शनिबारबाट सुरु हुने केपी ओली कप राष्ट्रिय खुला टी–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालामा हुने केपी कपमा कुल १६ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको खेल तालिका सार्वजानिक भएसँगै पहिलो खेल पोखरा महानगरपालिका र स्याङ्जा क्रिकेट क्लब बिच हुने भएको छ ।
दोस्रो तथा उद्घाटन खेलमा सिइसी क्रिकेट क्लब काठमाडौँ र हेटौँडा एसएबीच हुनेछ । खेल तालिका अनुसार समूह ‘ए’ मा सिइसी काठमाडौँ, हेटौँडा एसए, पोखरा महानगर क्रिकेट क्लब र स्याङ्जा क्रिकेट क्लब रहेका छन् । समूह ‘बी’ मा चितवन क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एसोसिएसन, गण्डकी हिरोज क्रिकेट क्लब र हिमालयन क्रिकेट एसोसिएसन रहेका छन् । समूह ‘सी’ मा लुम्बिनी खुकुरी क्रिकेट क्लब, मधेश प्रदेश क्रिकेट क्लब, हिमाल फ्रेन्ड क्रिकेट क्लब र कर्णाली एकेडेमी तथा समूह ‘डी’ मा सुन्दर हेरचाह क्रिकेट क्लब, आत्रेय क्रिकेट एसोसिएसन, मालपोखरी क्रिकेट क्लब र होरिजोन क्रिकेट क्लब रहेका छन् ।
यस अघि पहिलो संस्करणमा सात प्रदेश र तीन विभागीय क्लबको सहभागिता रहेको थियो । उक्त संस्करण मधेश प्रदेशले जितेको थियो । चैत्र २३ देखि ३० गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ दि सिरिजले नगद ३० हजार, वेष्ट बलर, वेस्ट व्याटरले जनही नगद रु १० हजार र म्यान अफ दि म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ३० लाख खर्च हुने आयोजकले जनाएको छ । अध्यक्ष आचार्यले हाल सम्म २९ भन्दा बढि टिमले पत्र पठाए पनि अन्तिम चरणमा १६ टिमको मात्रै सहभागिता गराएको बताए । उनले क्रिकेट विकासका लागि अब ग्रासरुट स्तरमा जानुपर्छ भन्ने अवधारणा अनुरूप आफूहरूले यस पटक खुला क्लबस्तरीय क्रिकेटको आयोजना गरेको सुनाए । उनका अनुसार हरेक टिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई समेत समावेश गराउन पाउनेछन् ।
उनले भने, ‘‘सहभागिता जनाउन चाहने टिमहरूको बारेमा निर्क्यौल गरेर १६ टिम मात्र सहभागिता गराएका छौँ ।” पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुग्ने बताउँदै अध्यक्ष आचार्यले खेल पर्यटनमार्फत समेत यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने उल्लेख गरे । प्रतियोगितालाई सफल बनाउन सबै संग आग्रह गर्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष समेत रहेका उनले यूवा खेलाडी उत्पादनमा समेत यसको भूमिका हुने बताए । उनले भने–“अहिले धेरै यूवा खेलाडीहरूलाई यस्तो प्रतियोगिताहरूको खाँचो छ । जहाँ बाट उनीहरूको भूमिका राष्ट्रले प्राप्त गर्न सक्नेछ ।” प्रतियोगिता लिग कम नक आउटका आधारमा हुनेछ भने प्रतियोगितामा प्रवेश निशुल्क गरिएको छ ।
