पोखरा । वरिष्ठ लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेको आवाजमा शुक्रबार पोखरा घन्कियो ।  तेस्रो पटक एकल साङ्गीतिक साँझ मार्फत दर्शक श्रोता माझ प्रस्तुत भएका उनले गीत मात्रै सुनाएनन् गीत रेकर्ड हुँदाका प्रसङ्ग झिक्दै ती गीत पस्कन साथ दिनेलाई सम्झिए ।

पोखरा सभागृह हलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एकल साङ्गीतिक साँझको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै  सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले समाज रूपान्तरणको लागि गीत सङ्गीतको भूमिका महत्वपूर्ण र शक्तिशाली हुने खुलाए ।

 गण्डकी प्रदेश लोक संस्कृतिको मुख्य थलो भएको भन्दै उनले गायक न्यौपानेको गायन कलाको प्रशंसा समेत गरे । गीत सङ्गीतमा रम्ने अवसर लोकतन्त्रको कारण सम्भव भएको उनले खुलाए । समृद्धि र विकासले मात्र खुसी नमिल्ने भन्दै व्यक्तिलाई सुखी बनाउन गीत सङ्गीत आवश्यक पर्ने र यसमा लोक दोहोरी गीत  सशक्त रहने बताए । गण्डकी प्रदेशका संस्थापक मुख्य मन्त्री समेत रहेका उनले  धेरै लोक स्रष्टा जन्माएको बताउँदै साहित्य, कला र सङ्गीतको उर्वर भूमि  गण्डकी प्रदेश भएको बताए । उनले गणतन्त्रको विकल्प अरू कुनै तन्त्र हुन नसक्ने भन्दै सभ्य समाज निर्माण गर्न गीत सङ्गीत शसक्त माध्यम भएको बताए । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापा मगरले साङ्गीतिक साँझ आयोजना गर्नुको कारण र यो कार्यक्रमको निरन्तरताको बारेमा जानकारी दिँदै सबै सहभागीलाई स्वागत गरिन् । प्रवेश निःशुल्क रहेको कार्यक्रममा पुगेर गायक न्यौपानेका चर्चित गीत सुन्दै नाच्न अनि झुम्न दर्शकको ओइरो लागेको थियो। दर्शकको सहभागितालाई ध्यान दिएर कार्यक्रम स्थल बाहिर एलइडी स्क्रिन मार्फत समेत कार्यक्रम हेर्ने व्यवस्था मिलाइएको थियो । कार्यक्रममा प्रतिष्ठानमा आवद्ध कलाकारको देशैभरबाट उपस्थिति रहेको थियो ।

गायक न्यौपानेले  बलाम देवी थान’ गीतबाट गायन साँझको यात्रा प्रारम्भ गरेका उनले मायाले मार्‍यो गीत मार्फत बीट मारे । उनले कार्यक्रममा आफ्ना चर्चित गीतहरू फूलको बासना, झिल झिल सितारा, ऐना हेरेर, त भनेर छोड्यो मायाले, ढुङ्गे धारामा, कुर्ता सुरुवाल, आज मुग्लिन झरौँ, पूर्वैमा झ्याल राखे सुनाए ।

 यसैगरी रुन्छ नि मन किन रुदैन, घाम जस्तो चम्किलो, देउरालीमा धजा, सररर पानी घट्टामा,  मिर्मिमुनी काली थुनेको, कमल फूल र नरोऊ नरोऊ मैना र डाँडैमा पिपल सारेर गीत सुनाएर माहोल गर्माए । वाद्यवादनमा तेजेन्द्र गुरुङ लगायतको टीमले साथ दिएका थिए । उपस्थित दर्शकले नाँचेर साथ दिँदा माहोल झनै रमणिय बनेको थियो ।

 पोखरा सभागृह हलमा १५ वर्ष पछाडि एकल साँझ मार्फत जुट्न पाएका उनको एकल साँझ  २०६६ सालमा लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनले आयोजना गरेको थियो । त्यसपछि  फेवा डिजिटल रेकर्डिङ स्टुडियोको आयोजनामा २०६८ सालमा काठमाण्डौमा एकल साङ्गीतिक प्रस्तुती राखेका थिए । यसपालिको कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको थियो ।

 कार्यक्रममा कलाकारले उनका केही गीतमा नृत्य समेत गरे । न्यौपानेले दोहोरी प्रतिष्ठानका हालसम्मका अध्यक्षहरू र बुबा सहित परिवारका सदस्यलाई साक्षी राखेर आफ्नो प्रस्तुती राखे ।  दर्शकले गायक न्यौपानेको बारेमा  उनको जीवनीमा आधारित  वृत्तचित्र हेरेर जान्न पाए।

गायक न्यौपाने २०४६ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएका स्वर परीक्षामा उत्रिर्ण हुन सफल भएका थिए । त्यही वर्ष ‘बलाम देवी थान’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा औपचारिक रुपमा आगमन गरेका हुन् । उनले आवाज भरेको पहिलो एल्बम ‘श्रीखण्ड चन्दन’ हो । यो एल्बम २०४९ सालमा बजारमा आएको थियो । आफ्नै एल्बमको रुपमा श्रोतामाझ पस्केको पहिलो एल्बम भने ‘फुलको वासना’ थियो । जुन एल्बम २०५३ सालमा म्युजिक नेपालले बजारमा ल्याएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपाने हाल कार्यक्रम अधिकृतको रुपमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यरत छन् ।

प्रतिष्ठान नेपालले नारायण रायमाझीको साङ्गीतिक साँझ सफलतापूर्वक सम्पन्न गरिसकेको छ । हरेक वर्ष एकजना अग्रज स्रष्टाको साङ्गीतिक साँझ आयोजना गर्ने प्रतिष्ठानले योजना बनाएको अध्यक्ष थापा मगरले बताएकी छन्।

 २०५८ सालमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लोकगीत, सङ्गीत र लोककलाको क्षेत्रमा क्रियाशील रहदै आएको छ । प्रतिष्ठानले प्रदेश समिति, उपत्यका समन्वय समिति, जिल्ला समिति तथा विदेशमा समेत शाखा समिति मार्फत आफ्ना गतिविधि गर्दै आइरहेको छ ।

 साङ्गीतिक साँझमा २५ लाख आम्दानी र २० लाख खर्च हुने आयोजकको अनुमान छ । साङ्गीतिक साँझलाई मुख्य प्रायोजकको रुपमा एनसेलले साथ दिएको थियो । कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश विजी, महासचिव शिव हमाल लगायतले पनि बोलेका थिए । कार्यक्रममा सहयोग गर्नेहरूलाई सम्मान समेत गरियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0