पोखरा । पोखरा महानगरपालिका १९ चुरुङ्गामा जारी श्री दुर्गा पाञ्चायन मन्दिर प्रतिष्ठा तथा श्रीमद् देवी भागवत नवाह ज्ञानमहायज्ञमा बिहीबारसम्म ३६ लाख ५० हजार रुपैयाँ सङ्कलन भएको छ । श्री दुर्गा मन्दिर एवं गौरीशङ्कर ब्रह्माविद्यापीठको आयोजनामा चैत्र १६ गतेदेखि सुरु भएको महायज्ञ २५ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञबाट १ करोड २० लाख सङ्कलन गर्ने लक्ष्य राखिएको महायज्ञ मूल आयोजक समितिका महासचिव विकास गौतमले बताए । महायज्ञ स्थलमा बिहीबार गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी पुगेका थिए । उनले धार्मिक क्षेत्रमा निर्माण गरिएका भौतिक संरचनाले समेत पर्यटकको ध्यान खिच्ने भएकोले त्यसमा ध्यान दिनुपर्नेमा जोड दिए । संरचना निर्माण लगायतका कार्यमा आफ्नो तर्फबाट साथ सपोर्ट रहने प्रतिवद्धता उनले जनाए । सत्य र मिठो वचन हुन सकेको खण्डमा जिन्दगीमा सफल भइने धारणा उनले गरे । नेपाल ज्ञानभूमि भएको पूर्वमुख्यमन्त्री अधिकारीले उल्लेख गरे ।
नवरात्रको अवसर पारेर ऐतिहासिक अम्रेश्वर शिवालय काउँरे गुफाको सिद्ध क्षेत्रमा पोखरा महानगरकै नयाँ शक्ति पीठ र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा निर्मित दुर्गा पञ्चायन मन्दिरको प्राण प्रतिष्ठा एवं श्री श्रीमद्देवी भागवत नवाह ज्ञानमहायज्ञ आयोजना गरिएको हो ।
महासचिव विकास गौतमका अनुसार चुरुङ्गास्थित ब्रह्मा विद्यापीठ परिसरमा महेश सन्यासी आश्रम देवघाट धामका संस्थापक डाक्टर रमणानन्द गिरिजी तथा विभिन्न सङ्घसंस्थाहरूको आर्थिक सहयोगबाट प्राप्त रु २ करोड को लागतमा १३ वटा गजुर र भूमिगत गर्भ गृहसहितका ढुङ्गाको विशाल कलात्मक मन्दिर निर्माण गरिएको छ ।
मन्दिर निर्माणकार्यमा हालसम्म झण्डै एक करोड ७० लाख खर्च भैसकेको महासचिव गौतमले जानकारी दिए । चैत्र २२ गते शुक्रबार मूर्ति प्राणप्रतिष्ठा तथा दशौँ दिन पूर्णाहुति एवं महायज्ञ समापन गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ढाकामोहन गौतमले जानकारी दिए । महायज्ञ स्थलमा पुग्ने भक्तजनको सङ्ख्या बढ्दै गएको प्रचारप्रसार संयोजक दयाराम गौतमले बताए ।
महायज्ञमा दैनिक मण्डप पुजा, कथावाचन, आरती र प्रसाद ग्रहण कार्यक्रम भइरहेको छ । ५ सय सम्मको भेटी दान गर्नेहरूको दानपत्रमा नाम लेखिने छ भने ५ लाखभन्दा बढि दान गर्नेहरूलाई आजीवन सदस्यसहित अभिनन्दन गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष गौतमले खुलाए । वि.सं. २०७२ सालअघि यस क्षेत्रमा सानो जीर्ण मन्दिर रहेको थियो ।
हाल यहाँ शिखर शैलीको दुर्गा पञ्चायन मन्दिर निर्माण गरिएको छ । महायज्ञमा महेश सन्यासी आश्रम देवघाट धामका संस्थापक डाक्टर रमणानन्द गिरिजी महाराजले कथावाचन गरेका छन् भने ३ सय बटुकहरु सहभागी बनेका छन् । कथा वाचन मात्रै भएकाले ज्ञान प्राप्त गर्ने यज्ञका रुपमा यो महायज्ञ रहेको आयोजकको दावी छ । महायज्ञको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए ।
