पोखरा । असहज परिस्थितिका कारण स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन भएको गण्डकी प्रदेशको सर्वोकृष्ट सामुदायिक क्याम्पसका रूपमा परिचित जनप्रिय बहुमुखी क्याम्पसमा चैत्र २७ गते निर्वाचन हुने भएको छ । जसको लागि निर्वाचन अधिकृत नविनराज बरालले संशोधित कार्यतालिका प्रकाशित गरेर निर्वाचनको प्रक्रिया अगाडि बढाएको जनाएका छन् ।
यसअगाडि निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने गरी केही विद्यार्थी सङ्गठनहरूले क्याम्पसमा तालाबन्दी गरेपछि निर्वाचन सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको थियो । निर्वाचन प्रक्रियालाई निर्धारित समयमा अघि बढाउन वार्ता तथा संवादका विभिन्न पहल गरिए पनि अपेक्षित सहमति हुन नसक्दा निर्वाचन स्थगन गर्नुपरेको थियो । निर्वाचन प्रक्रिया सहज बनाउन विद्यार्थी सङ्गठन, समुह तथा सरोकारवालाहरूसँग संवाद गरेर प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।
प्रकाशित तालिका अनुसार आज शुक्रबार प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको मनोनयनपत्र वितरण र मनोनयनपत्र दाखिलाको काम हुनेछ । शनिबार दुवैतर्फका उम्मेदवारको नामावली प्रकाशन गर्ने, दावी विरोध र दावी विरोध पश्चात छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
आइतबार उम्मेदवारी फिर्ता सहित अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । चैत्र २५ गतेबाट मौन अवधि सुरु हुनेछ भने मतदान चैत्र २७ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म हुनेछ। २ हजार ४ सय ३३ विद्यार्थी मतदाता रहेको क्याम्पसमा वि.सं. २०७३ सालमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो ।
