पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा जम्मा २ हजार ८ सय ९७ मत खसेको छ । कुल ९ हजार २ सय ७० मतदाता रहेका थिए । १६ वर्षपछि आईतवार भएको स्ववियु निर्वाचनको त्रिभुवन विश्वविद्यालयको सबैभन्दा धेरै विद्यार्थी भएको आङ्गिक क्याम्पसमा जम्मा ३१ दशमलव २५ प्रतिशत मत खसेको हो । ६९ दशमलव ७५ प्रतिशत मतदाता भोट हाल्नै आएनन् । बिहान ८ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चलेको थियो । सर्वदलीय/सर्वपक्षीय बैठकपश्चात मतगणना कतिवेलादेखि गर्ने भन्नेबारे टुङ्गो लाग्ने पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचन समितिले जनाएको छ ।
यसअघि गत चैत्र ५ गते मंगलवारका लागि निर्धारित मतदान मतपत्रमा गडबडी देखिएपछि स्थगित भएको थियो । पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापति बन्न ८ जनाको उम्मेदवारी परेको छ । जसमा कमल सुवेदी र विप्लवी न्यौपाने २ जना स्वतन्त्र रुपमा उठेका छन् भने बाँकी ६ जना राजनीतिक दलको भातृ सङ्गठनका उम्मेदवार छन्।
पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि भएको निर्वाचनमा एमालेको अनेरास्ववियुबाट विष्णु पोखरेल, काङ्ग्रेसको नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु ९क्रान्तिकारी० बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।
समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य)का उम्मेदवारहरू पनि चुनावी मैदानमा छन् ।
