पोखरा । पोखरामा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ सुरु भएको छ । महोत्सवको शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्‌घाटन गरे  ।  महोत्सव  उद्घाटनमा  बोल्दै  प्रमुख आचार्यले पोखराको समग्र नाट्य क्षेत्रको उन्नयन, विकास, प्रवर्द्धन र संरक्षणमा नगर प्रमुखका हैसियतले अभिभावकत्व प्रदान गर्ने विश्वास दिलाए । 

महोत्सवका निर्देशक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले  सोचे भन्दापनि बढी दर्शकको सहभागितामा सांस्कृतिक प्रस्तुतीसहित सडक परिक्रमा गरेर नाटक महोत्सवको भव्य रुपमा उद्‌घाटन गर्न पाएको भन्दै खुशी व्यक्त गरे । त्यतिमात्र नभएर नाटक मुनामदनलाई कृषक, आमा समुह, व्यवसायी, संस्कृतिकर्मी लगायतका नयाँ दर्शकलाई देखाउन पाएकोमा उत्साहित बनेको उनको भनाइ थियो । शनिबार इन्द्रेणि थिएटरको प्रस्तुतीको ‘भ्रुण’ नाटक समेत मञ्चन भयो ।   बाँकी ४ दिन पनि यसरी नै दर्शकको माया र साथ पाउने महोत्सव निर्देशक परिवर्तनको विश्वास छ । 

महोत्सव अन्तरगत आइतबार दिउँसो ३ बजे ‘द स्टेज इज कलिङ यु’ भन्ने अन्तरक्रियात्मक कार्यक्रम छ । जहाँ कलाकारहरू दिया मास्के र प्रकाश घिमिरेले अञ्जु दाहालको सहजिकरणमा छलफलमा  जुट्नेछन् ।  साँझ ५ बजे ट्युनिसियाबाट आएको नाटक ‘अस्च’ मञ्चन हुनेछ । यसका अलावा मौलिक धुन र साँगीतिक प्रस्तुती, नाटकको लागि आवश्यक पर्ने कस्टम, प्रप्स सहित आर्ट, पेन्टिङ, हैंडीक्राफ्ट, पुस्तक, तस्बिर प्रदर्शनी र बिक्री हुनेछ ।   अध्यक्ष परिवर्तनले अन्तर्राष्ट्रिय नाटक हेर्ने यो अवसरसँगै हाम्रो संस्कृति, मौलिकताको विषयमा बहस गरिने बताए । उनले अन्तर्राष्ट्रिय रुपमा कला संस्कृतिको आदान प्रदान गर्ने अवसरमा सहभागी बन्न  सबैमा आग्रह गरेका छन् ।

रङ्गकर्मी प्रकाश घिमिरेले पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुन आवश्यक रहेको बताए ।  नाटक गरिराख्ने मानिसलाई विश्वभरि नाटक कुन रुपमा भइरहेको छ, कसरी गइरहेको छ भनेर त्यसलाई अवलोकन गर्ने ठूलो अवसर यो रहने खुलाए । रङ्गकर्मीका लागि मात्र नभएर दर्शकका लागि पनि विश्वभरि कस्ता नाटक भइरहेका छन् भन्ने जानकारी हुने भएकोले दर्शकको साथ पाउने उनको भनाइ छ। यस्ता कार्यक्रम गर्नको लागि सबै संस्थाले सहयोग गर्नुपर्ने र वर्षैपिच्छे आयोजना हुनुपर्नेमा उनले जोड दिए । यसले नाटकको स्तरलाई मात्र माथि उठाउने नभएर नेपाली नाटकले राम्रो बजार समेत पाउने उनको विश्वास छ ।

आयोजकले पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको बताइएका छन् । चैत्र १३ सम्म सञ्चालन हुने महोत्सव अवधिभर नेपालका साथै चीन, ट्युनिसिया, नर्वे, जापान लगायतका देशहरूका नाटक मञ्चन हुनेछन् । 

पोखरा थिएटरले यसभन्दा अगाडि २०७५ सालमा पहिलोपटक अन्तर्राष्ट्रिय नाटक महोत्सवको आयोजना गरेको थियो । नयाँ पुस्ता तथा दर्शकलाई थिएटर प्रति आकर्षण गर्नको लागि यो कार्यक्रम गर्न लगिएको हो ।  महोत्सव अवधिभर ४ विदेशी सहित ६ वटा नाटक मञ्चन हुनेछन् । महोत्सव उद्‌घाटन पूर्व सांस्कृतिक र्‍याली समेत आयोजना गरिएको थियो । पोखरा थिएटरबाट सुरु भएको र्‍याली महेन्द्रपुल चिप्लेढुङ्गा हुँदै थिएटरमा नै पुगेर समापन भएको थियो ।  थियटरले तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२५ (निट फेस्ट)सँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो ।

तस्बिर: प्रथम श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0