पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा चार्टर उडान हुने भएको छ । बुधबार पोखरामा पोखरा पर्यटन परिषदले पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार चिनबाट १० वटा उडान मार्फत पर्यटकहरू पोखरा आउनेछन् । पोखराबाट ३ वटा उडान मार्फत चीन जानेछन् । 

विमानस्थल बनेको दुई वर्षसम्म पनि नियमित उडान हुन नसकेपछि विमानस्थललाई चलायमान बनाउन यो पहल थालिएको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताए । परिषद्को नेतृत्वमा चिनियाँ दूतावास र सिचुवान एयरलाइन्ससँगको सहकार्यमा चार्टर उडान गर्न लागिएको हो । अध्यक्ष पहारीका अनुसार तीन महिनासम्म हप्तामा एउटा चार्टर उडान हुनेछ । जस अनुसार चिनियाँ एयरलाइन्स सिचुवानको जहाजमार्फत १२७ चिनियाँ पर्यटक चैत ५ गते बिहान १० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन्। सोही दिन १ सय २७ नेपाली पर्यटन व्यवसायीहरू दिउँसो १२ बजे छेन्दु प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

 तीन महिनासम्म करिब १ हजार २ सय ५० चिनियाँ पर्यटक पोखरा ल्याइनेछ । चार्टर उडानलाई विस्तारै नियमित अन्तर्राष्ट्रिय उडानमा परिवर्तन गर्ने योजना छ। चिनियाँ दूतावास, सिचवान एयरलाइन्स र चाइना ट्राभल इन्टरनेसनल छेन्दुले यो पहलमा सहकार्य गरेका छन्। चीनबाट आउने यात्रु सबैजना ७ दिनको प्याकेजमा घुम्नका लागि नै आउने उनले खुलाए ।

पहिलो उडानमा जाने नेपाली टोली ७ रात ८ दिने भ्रमणका लागि छेन्दु, लुझोउ, इमि, लिसानछोङछिङ पुग्नेछन् । त्यहाँ पर्यटन पूर्वाधार, व्यवस्थापन र सहकार्यबारे अध्ययन हुनेछ। चैत ६ गते छेन्दु र चैत ९ गते छोङछिङमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना समेत गरिनेछ।

पोखरा महानगरपालिकाका प्रमुख लुझोउका उच्च अधिकारीहरूसँग सहकार्यबारे छलफल गर्नेछन्। प्रमुख धनराज आचार्यका अनुसार विमानस्थल अब पूर्णरूपमा अन्तर्राष्ट्रिय भइसकेको छ। उनले पोखरा-छेन्दु उडान केवल पर्यटन प्रवर्द्धनका लागि मात्र नभई दुई सहरबीच सम्बन्ध मजबुत बनाउने अवसर भएको बताए। विमानस्थलको सेवा अब चौबीसै घण्टा सञ्चालनमा रहेको र यसले अन्तर्राष्ट्रिय उडानका लागि सहज वातावरण बनाएको उनले उल्लेख गरे। पहिलो उडानको प्याकेज १ लाख २३ हजार रुपैयाँ तोकिएको छ, जसमा व्यक्तिगत खर्च समावेश हुने छैन। दोस्रो उडानमा पर्यटन व्यवसायीहरू समेटिनेछन् भने तेस्रो उडानमा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू सहभागी हुनेछन्। यसका सकारात्मक नकारात्मक पक्ष केलाएर सुरु गर्न लागिएको भन्दै यो पोखरा अन्तराष्ट्रिय विमानस्थललाई चलायमान बनाउने राम्रो सुरुवात हुने सक्ने विश्वास व्यक्त गरे ।

 चिनियाँ दूतावासका काउन्सिलर वाङ सिनले पोखराबाट पहिलो अन्तर्राष्ट्रिय नियमित उडान सुरू भएकोमा बधाई दिँदै निरन्तरता दिन स्थानीय निकाय र पर्यटन संघसंस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। 

 पर्यटन व्यवसायीहरूका अनुसार यो उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिनेछ। सरकारले, पर्यटन बोर्डले, स्थानीय निकायहरूले र निजी क्षेत्रले सहकार्य गर्न आवश्यक रहेको पोखरा पर्यटन परिषदले जनाएको छ। नेपाल पर्यटन बोर्ड पोखरा प्रमुख मणिराज लामिछानेका अनुसार नेपाल पर्यटन बोर्ड र नेपली दूतावासको सहकार्यमा चीनका विभिन्न सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरिनेछ। चिनिया पर्यटकले पोखरा प्रति बढी चासो राख्ने गरेको र त्यहाँबाट सिधैँ पोखरा आउन पाउँदा घुम्न आउनेको संख्या बढ्न सक्ने बताए । 

पोखरा भ्रमण वर्ष २०२५ कार्यक्रम संयोजक गोपी बहादुर भट्टराईले विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न र थप अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्न आवश्यक सहकार्यको आवश्यकता रहेको बताए। पत्रकार सम्मेलनको सञ्चालन परिषदका सचिव जीवनराज सापकोटाले गरेका थिए । अहिले हुने चार्टर उडानले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सहयोग गर्नुका साथै गण्डकी प्रदेशकै पर्यटनलाई चलाएमान बनाउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0