पोखरा । नेपाल फोटो पत्रकार सङ्घ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको सङ्घको नवौँ अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

सङ्घको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा युनिश गुरुङ्,  सदस्यहरूमा सञ्जय शाक्य, गिरीधारी पौडेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव र ३ सदस्यहरू कार्य समितिले पछि मनोनित गर्ने निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए ।

अधिवेशनको नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्‌घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष पौडेलले समाचार लेख्ने भन्दा फोटो पत्रकार फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्ने हुँदा धेरै चुनौति सामना गर्नुपर्ने बताए । समाचारका लागि अति आवश्यक फोटो खिच्ने पत्रकारहरू एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो । ‘समाचारका लागि फोटो अति आवश्यक चिज हो । अर्को अर्थमा भन्नुपर्दा समाचार आज लेख्यो भोलि पुरानो हुन सक्छ तर फोटो कहिल्यै पुरानो हुँदैन,’ उनले भने, ‘समाचारको महत्वपूर्ण पाटो फोटो खिच्ने पत्रकारहरू एकजुट हुनु आवश्यक छ र रहिरहनेछ ।’

कास्कीका फोटो पत्रकारहरूले सिर्जनात्मक काम गर्नुपर्नेमा उनको जोड थियो । फोटो पत्रकारका हरेक गतिविधिमा पत्रकार महासङ्घको सदैव साथ र सहयोग रहने उनले प्रतिवद्धता जनाए ।

नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष माधव रेग्मीले समाचारमा फोटोको महत्व जति छ त्यो भन्दा बढि फोटो पत्रकारको महत्व रहेको बताए । फोटो बिना समाचार र पत्रकार अपुरो हुने भएकाले आगामी दिनमा पत्रकार महासङ्घ र नेपाल फोटो पत्रकार सङ्घ सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेलले कास्कीका फोटो पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिइन् । केन्द्रमा भएको फोटो पत्रकार सङ्घ टुटफुट भएपनि कास्कीबाट एकजुटको सन्देश दिनुपर्ने उनले बताइन् ।

कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष घनश्याम पौडेलले २०६२/०६३ को जनआन्दोलनको समयमा एकजुट भएका फोटो पत्रकारहरूको संस्थाले विभिन्न समयमा फोटो प्रदर्शनीलगायतका अन्य रचनात्मक कार्यक्रम गर्दै आएको बताए । आगामी दिनमा पनि अझै क्रियाशील भएर लाग्न उनको सुझाव थियो ।

सङ्घका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेलले २०६२/०६३ को जनआन्दोलन क्रममा तस्विर खिच्ने क्रममा बिभिन्न समस्या भोग्नु परेपछि आन्दोलनकै दौरानमा स्थापना भएको संस्था अहिलेको अवस्थामा आइपुगेको बताए । २०५३ सालमा काठमाण्डौमा खोलिएका राष्ट्रिय फोटो पत्रकार समूह नेपालको शाखाका रुपमा स्थापित संस्था केन्द्रमा गुटबन्दीमा परी टुटफुट भएको अवस्थामा कास्की एक भएर अघि बढिरहेको उनले सुनाए । सङ्घले राजनीति बाहेक, पर्यटन प्रवर्द्धन र वातावरण संरक्षण तथा जनचेतनामूलक फोटो प्रदर्शनी गरिरहेको जानकारी दिए ।

पूर्वअध्यक्ष ईन्द्रप्रसाद पौडेलले केन्द्रमा केन्द्रले २०७४ सालमा गरेको भद्र सहमति र निर्णय लत्याएपनि कास्कीमा केन्द्रकै निर्णय अनुसार दर्ता गरिएको नेपाल फोटो पत्रकार संंघ कास्की विना कुनै गुटबन्दी अहिलेसम्म चलिरहेको जानकारी दिए । वि.सं. २०७४ सालमा दर्ता भएको नेपाल फोटो पत्रकार संंघ, कास्कीको पहिलो नेतृत्व आफैले गरेको उनले सुनाए । त्यसपछिका अध्यक्षहरुले पनि संस्थालाई जोगाएर विभिन्न कार्यक्रम गरिरहेको उनले बताए ।

फोटो पत्रकारहरूको अर्को संस्था फोटो पत्रकार महासङ्घ, नेपाल कास्की शाखाले फोटो पत्रकारहरू एकजुट हुनुपर्ने सन्देशसहित आफूहरुको संस्था नेपाल फोटो पत्रकार सङ्घ (एनपिजेए) कास्कीमा गाभिएको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0