पोखरा । पोखरास्थित नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा मानव सेवा फाउन्डेसनद्वारा आयोजना गर्न लागेको कोटिहोमको विषयमा पोखरामा सोमबार त्रिपक्षीय वार्ता सम्पन्न भएको छ । पोखरा महानगरपालिका, तीनवटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय तथा आयोजक मानव सेवा फाउन्डेसनका प्रतिनिधिहरूबीच सोमबार पोखरा महानगरपालिका कार्यालयमा वार्ता भएको हो ।

झण्डै ३ घण्टा सम्म चलेको त्रिपक्षीय वार्ताले मानव सेवा फाउन्डेसनलाई कोटिहोम गर्न दिने सहमति भने गरेको बताइएको छ । ‍ कोटिहोम कहाँ गर्ने भन्नेबारे भने कुनैपनि निर्णय नभएको महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले सञ्चारकर्मीलाई जानकारी दिए । यसअघि बाराहीघाटमा कोटिहोम गर्न नदिनेबारे कार्यापालिका बैठकले निर्णय गरेकोले कोटिहोम कहाँ गर्न दिने भन्ने विषयमा मङ्गलवार पुनः कार्यपालिका बैठक बसेर निर्णय गरिने पोखरा महानगरपालिका वडा नं‍.२५ का वडा अध्यक्ष समेत रहेका तिम्सिनाले खुलाए । उनका अनुसार कार्यपालिका बैठक पश्चात पुन: त्रिपक्षीय वार्ता हुनेछ ।

आजको बैठकमा कोटिहोम सञ्चालनका लागी त्रिपक्षीय समिति बनाउनेबारे पनि प्रस्ताव पेस भएको थियो । तर समितिमा कुनकुन पक्षको कतिजना सदस्य रहने भन्नेबारे भने निर्णय नभइसकेको प्रवक्ता तिम्सिनाले जानकारी दिए । समिति गठनका विषयमा पनि कार्यपालिका बैठकपछि नै निर्णय हुने छ । प्रवक्ता तिम्सिनाले बाराहीघाटमा कोटिहोम गर्न नदिने महानगरको पुरानै अडान कायम रहेको बताएका छन् ।

बैठकमा कोटिहोम कार्यक्रमलाई महानगरपालिकाले पनि अपनत्व लिने निर्णय भएको विश्वहिन्दु महासङ्घका उपाध्यक्ष शङ्कर खरालले जानकारी दिए । खरालले ५ सदस्यीय विवाद समाधान समिति बनाउने निर्णय भएको बताए । उनका अनुसार समितिमा आयोजकका तर्फबाट २ जना, जिल्ला प्रशासनबाट एक र महानगरबाट दुइजना सदस्य रहनेछन् । समितिले तोकेको स्थानमा कोटिहोम हुने उनको भनाइ छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले वार्ता सकारात्मक भएको बताए । दुवै पक्ष सहमतिमा पुगेर एउटा प्रक्रियामा लैजाने भन्ने भएको भन्दै उनले यसका लागि भोलि मङ्गलबार बैठक बस्ने बताए ।

यसअघि गत शुक्रबार कोटिहोमका लागि भूमि पूजन कार्यक्रममा झडप हुँदा केही नगरप्रहरी सहित कोटिहोम पक्षका केही व्यक्तिहरू घाईते भएका थिए । कोटीहोमको विषयलाई लिएर पोखरामा पछिल्लो समय विवादहरू हुँदै आएको छ । कोटीहोम रोक्न नपाइने भन्दै आइतबार र सोमबार पोखरामा रहेका विभिन्न धार्मिक सङ्घसंस्थाले पोखरा महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका थिए ।

कोटिहोमका संकल्पकर्ता  बिजय कृष्णमुर्तीले  तोकिएको मितिमा नै कोटिहोम हुने र यसलाई सबैको यज्ञ बनाउनका लागि मङ्गलबार समिति विस्तार भएर केही दिनमा यसको निष्कर्ष निष्कने बताए । समितिले अहिले हुने भनिएको ठाउँलाई ठीक छ भन्न सक्ने आशा समेत उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0