पोखरा । कास्कीको लेखनाथमा जारी दोस्रो सूर्यतारा खेल महोत्सव अन्तर्गत नेकोस कप फुटबलमा विष्णु पादुका क्लब हेम्जाले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा विष्णु पादुकाले अन्नपूर्ण गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । विष्णुपादुकाका लागि सुविन श्रेष्ठले २ गोल गरे भने सञ्जय केसीले एक गोल गरे । अन्नपूर्णको तर्फबाट कुञ्जन पौडेलले सान्त्वना गोल गरे ।
प्रतियोगितामा सोमबार दुई खेल हुने आयोजक सूर्यतारा क्लबका अध्यक्ष एवं सूर्यतारा खेल महोत्सव संयोजक विष्णु पुनले जानकारी दिए । जस अनुसार पहिलो खेल मध्यान्ह १२ बजेर १५ मिनेटमा आदर्श युवा क्लब र गन्नी फुटबल क्लबबीच हुनेछ । दिउँसो सवा दुई बजे हुने अर्को खेलमा गण्डकी प्रदेश प्रहरी क्लब र एलजी एशोसिएसनले प्रतिष्पर्धा गर्नेछन् ।
फूटबल प्रतियोगितामा प्रथम हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्ने कार्यक्रम संयोजक समेत रहेका अध्यक्ष पुनले बताए । द्वितीय हुने टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । वेस्ट प्लेयरलाई १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । शनिबार भएको उद्घाटन खेलमा आयोजक क्लब विजयी भएको थियो ।
चैत्र २ गते सम्म हुने खेल महोत्सवमा फुटबलका अलावा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश रहेको नेपाल खेलकुद महासङ्घ कास्कीका अध्यक्ष इश्वर अधिकारीले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सह प्रायोजकमा बन्दिपुर केबल कार प्रालि रहेका छन् । प्रवर्द्धकको रुपमा पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय खेलकुद परिषद नेपाल, प्रदेश खेलकुद परिषद गण्डकी र नेपाल पर्यटन बोर्ड रहेका छन् । खेल महोत्सव शनिबारदेखि सुरु भएको हो ।
