पोखरा । पोखरा ५ मा भू.पू. सैनिक तथा प्रहरी परिवारका सदस्यहरूका लागि अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. ५ कार्यालयको आयोजना तथा भू.पू गोर्खा सैनिक परोपकार समिति पोखरा ५ को सहजिकरणमा यो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा भू.पू गोर्खा सैनिक परोपकार समिति पोखरा ५ का संस्थापक अध्यक्ष सुवेदार मेजर अनरी क्याप्टेन रुद्र बहादुर थापा र वर्तमान अध्यक्ष अनरी सुवेदार मेजर हिरा बहादुर क्षेत्रीले सहजिकरण गरे । उनीहरूले पारिवारिक पेन्सन पाउनको लागि चाहिने डकुमेन्ट र पूर्व सैनिक स्वास्थ्य योजना (इसिएचएस) बारेमा सहभागीलाई जानकारी गराए ।
पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु प्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भारतीय राजदूतावास पेन्सन कार्यालय पोखराका पूर्व एस.टी.ओ. डोर बहादुर थापा, ए एण्ड बी इनटरनेशनल हस्पिटलका मेनेजिङ डाइरेक्टर डा. दीपक सुवेदी, भू.पू गोर्खा सैनिक परोपकार समिति पोखरा ५ का अध्यक्ष अनरी सुवेदार मेजर हिरा बहादुर क्षेत्री, उपाध्यक्ष सुवेदार मेजर अनरी क्याप्टेन राज बहादुर गुरुङ, पोखरा ५ का वडा सदस्य हरिमाया बिक, सुवेदार मेजर अनरी क्याप्टेन राम बहादुर थापा र सुवेदार मोति राज बरुवाल लगायतले बोलेका थिए ।
पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु प्रसाद बरालले पोखरा ५ मा सामाजिक र खेलकुदका कार्यक्रमहरू भू.पू गोर्खा सैनिक परोपकार समितिले गर्दै आएको बताए । उनीहरूले गरेको प्रस्ताव अनुसार कानूनी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । वार्षिक बजेटमा व्यवस्थापन गरेर यो कार्यक्रम गरिएको हो । भू.पू सैनिक तथा प्रहरी परिवारले पाउने सेवा सुविधा तथा नियम कानुनको बारेमा नजान्दा उनीहरूलाई समस्या परेकोमा अभिमुखिकरण कार्यक्रम पश्चात त्यसमा सहजता हुने उनको विश्वास छ ।
वडाध्यक्ष बरालले वडाले अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा फागुन २३ गते गृहणी महिलाहरूको लागि हाजिरजवाफ प्रतियोगिता र फागुन २५ गते लैङ्गिक हिंसा विरुद्ध पुरुषको ऐक्यबद्धता कानुनी सचेतना कार्यक्रम तथा फागुन २६ गते बालमैत्री वडा घोषणाको लागि तयारी भेला आयोजना गरिएको बताए ।
भू.पू. सैनिक तथा प्रहरी परिवारका सदस्यहरूका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा ८७ जना भू.पू. सैनिक तथा प्रहरी परिवारका सदस्यहरू सहभागी बनेका थिए । उनीहरूले आफूलाई परेका समस्याका बारेमा बताउँदै समाधानका उपायका बारेमा जानकारी समेत लिए ।
