इटहरी । जाउँ है पोखरा र जाउँ है कोशी भन्दै मङ्गलबार सुनसरीको इटहरीमा संयुक्त कार्यक्रम सम्पन्न भएको छ । जाउँ है पोखरा अभियान लिएर पूर्व पुगेको होटल सङ्घ पोखरा नेपालको टोलीलाई सुनसरी र बिर्तामोडमा स्वागत गरिएको थियो । नेपाल सरकारले कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा गरेको र भिजिट पोखरा इयर २०२५ पनि चलिरहेको सन्दर्भमा पूर्व र पोखराका व्यवसायी हातेमालो गरेर अगाडि बढ्न एकमत देखिएका छन् ।
घुमौँ कोशी भन्दै इटहरी उद्योग वाणिज्य सङ्घ र जाउँ है पोखरा भन्दै होटल सङ्घ पोखरा नेपालले इटहरीमा संयुक्त कार्यक्रम आयोजना गरेका थिए । विगतमा पोखरा र भद्रपुर जोड्ने गरि सुरु भई स्थगित हुन पुगेको हवाई उडान सेवा पुन: सुचारु गर्नु पर्ने सुझाव दुबै कार्यक्रममा पूर्वका व्यवसायीले राखेका थिए । कोशी प्रदेशका पर्यटन, बन तथा वातावरण मन्त्री षडानन्द मण्डलले पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका अहं हुने भनाई राखे ।
होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुबेदीले पोखराले पर्यटनमा कसरी प्रगति गर्न सफल भयो भन्ने विषयमा अनुभव बाँडे । कोशी प्रदेशका सांसद मिना श्रेष्ठले कोशीमा विश्वको अग्लो सगरमाथादेखि नेपालको होचो स्थान रहेको स्मरण गराउँदै पर्यटनका लागि प्रबर्द्धन जरुरी भएको भनाई राखिन् । इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन पराजुलीले पूर्वका पर्यटकीय सम्पदाको प्रचारप्रचार जरुरी भएको भनाई राखे ।
पोखरा पर्यटन परिषद्का विज्ञ सल्लाहकार दिपेन्द्र पहारीले पोखराका पर्यटकीय सम्पदाका बारे जानकारी गराउँदै उपस्थित सबैलाई धन्यवाद दिए ।
यसैगरी मङ्गलबार नै बिर्तामोडमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यवाहक प्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले झापाका पर्यटकीय सम्पदा र सेवा सुविधाका बारे अवगत गराएका थिए । विविध जातजाति, उनीहरूको पहिरन र खानाका हिसाबमा झापा र सिङ्गो कोशी प्रदेश धनी रहेको उनले स्मरण गराए ।
आयोजक सङ्घका अध्यक्ष सुवेदीले नेपाल आउने पर्यटक मध्ये ४० प्रतिशत पर्यटक पोखरा पुग्ने गरेको जानकारी दिँदै अहिले पोखराको पर्यटनमा आन्तरिक पर्यटकको हिस्सा पनि ४० प्रतिशत हाराहारी नै रहेको अवगत गराए । नेपालमै पहिलोपटक पोखरामा बलुन फेस्टिभल सफलतापूर्वक सम्पन्न भएको उनले जानकारी गराए ।आन्तरिक पर्यटकलाई पोखरेली पर्यटनकर्मीले ठूलो महत्व दिएको भन्दै उनले पूर्वका बासिन्दालाई पोखरा भ्रमणका लागि आग्रह गरे । कार्यक्रममा कतिपय सहभागीले पोखराले वातावरण र प्राकृतिको संरक्षणमा जोड दिनुपर्ने सुझाव राखेका थिए ।
झापा र सिङ्गो कोशी प्रदेशका धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्पदाका बारेमा समेत सो अवसरमा अवगत गराइएको थियो । झापाका पर्यटकीय क्षेत्रको भ्रमण गर्न झापाका व्यवसायीले पोखरेली ब्यबसायीलाई आव्हान गरेका थिए । उनीहरुले झापाबाट पोखरासम्म स्तरीय बस सेवा सञ्चालन र पहिला सुरु गरि हाल स्थगित रहेको हवाई सेवालाई पुन: सुचारु गर्नु पर्ने सुझाव पनि राखे । सो अवसरमा कोशी भ्रमण वर्ष २०८२ का सहसंयोजक भविषकुमार श्रेष्ठ, होटल व्यवसायी सङ्घ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य भीष्म खरेल, बन्दिपुर केवलकार प्रालिका उपाध्यक्ष किरण पोखरेल र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले भनाई राखेका थिए । कार्यक्रममा सङ्घका उपाध्यक्ष गणेशराज पहारीले अभियानबारे जानकारी दिँदै उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सङ्घका सचिव पार्वता पाण्डेले गरेकी थिइन् । नेपाल पर्यटन बोर्ड गण्डकीले जाउँ है पोखरा अभियानको प्रबर्द्धन गरेको छ ।
