पोखरा । सबै समुदायले विगतदेखि नै आफ्ना समुदायको कला, भाषा, संस्कृति, भेषभुषा, रीतिरिवाज र रहनसहनलाई संरक्षण र उजागर गर्न विभिन्न तवरबाट प्रयास गर्दै आइरहेका छन् ।
यसै क्रममा मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ भदौ ३ गतेदेखि पोखरामा औपचारिक रुपमा प्रदर्शन हुँदैछ । चलचित्रले मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्षलाई उजागर गर्नुका साथै समुदायभित्र भएका विकृतिविसङ्गतिलाई केलाएर अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा दिने आशा निर्माण पक्षको रहेको छ ।
चलचित्र मुख्यत: मगर समुदायको संस्कृतिमा आधारित भएपनि कथावस्तु भने देशमा महिलाहरूले सङ्घर्ष गर्नुपर्ने बाध्यात्मक सामाजिक परिवेश र सफलताको ऐनाको रुपमा चित्रण गर्ने प्रयत्न गर्ने चलचित्रका निर्माता तथा कथा लेखक जुना थापामगरले बताइन् ।
“देशको अधिकांश हिस्सा हामी आदिवासी जनजाति समुदायले ओगटेका छौँ, बाहुल्य जनसङ्ख्या भएको समुदाय मध्येको एक समुदाय मगर समुदाय हो । हामीले मान्दै आएका सुन्दर सांस्कृतिक पक्षहरू भीमकाय छन्, जसले हामीलाई पहिचान दिएको छ”, लेखक थापामगरले भनिन्, “यी हाम्रा सांस्कृतिक पहिचानहरू समय परिवेशअनुसार भोलिका पुस्ताले कसरी अनुशरण गर्छन्, यो निकै चुनौतीको विषय छ, त्यसैले यसलाई जीवित राख्न पनि दस्तावेजका रुपमा हाम्रो टिमले ‘दिलसरा’ निर्माण गर्न आवश्यक ठानेका हो, चलचित्रमा मगर समुदायको संस्कृति समावेश गरिएको भएपनि कथावस्तुमा भने समग्र देशकै सामाजिक परिवेशलाई चित्रण गरिएको छ ।”
त्यसो त चलचित्रका कथा लेखक थापामगर निकै लामो समयदेखि सञ्चार क्षेत्रमा आवद्ध रही मगर समुदायका गतिविधिहरूलाई सञ्चार माध्यम मार्फत वकालत गर्दै आइरहेकी छिन् । लेखक फुटकर पटकथा र डकुमेन्ट्रीको स्क्रिप्ट लेखनमा राम्रो अनुभव र दखल राख्छिन् । आफ्नो अनुभव र क्रियशनलाई अब आफ्नो समुदायको हितमा योगदान दिनुपर्छ भनेर ‘दिलसरा’ चलचित्रको कथावस्तु लेखनमा पहिलो पटक आँट गरेको उनी सुनाउँछिन् । साथै तयार भएको चलचित्रले दर्शक र शुभचिन्तकको मन जित्न सक्छ कि सक्दैन भन्ने चिन्ता बढिरहेको लेखक थापामगरले बताइन् ।
“छोटा कथा र स्क्रिप्ट लेखन पहिलेदेखि गर्दै आएको भएता पनि चलचित्रकै लागि भनेर मेरो यो पहिलो लेखन शुभारम्भ हो, कैयन पटक लेखेको स्क्रिप्ट च्यातेर पुनः लेखन गरियो, सोचमग्न मनहरूले कैयन रातहरु बेचैन भए, यसरी निकै मेहनतले ‘दिलसरा’ निर्माण भएको छ, दर्शक र शुभचिन्तकहरुले पक्कै मन पराउनुहुने छ, निर्माणको काम सकिएता पनि चलचित्र सार्वजनिक भएपछि दर्शकको कस्तो प्रतिक्रिया आउँछ भन्ने कुराले झन् बेचैन बनाउँदो रहेछ,” उनले थपिन् ।
समुदायको संस्कृतिमा आधारित भई निर्मित विगतका चलचित्रहरुले सांस्कृतिक, धार्मिक र परम्परागत जीवनशैली त देखाए तर हाम्रो समुदाय भित्र रहेका अन्धविश्वास र विकृति विसंगतिहरुलाई कमै देखाइए । यस्ता विकृति र विसंगतिहरुलाई चिरेर अगाडि कसरी बढ्ने भन्ने विषयमा पनि प्रेरणामूलक चलचित्र बन्नु पर्छ भन्ने उनको बुझाइ छ ।
हाल शिक्षण पेसा तथा सञ्चार क्षेत्रमा आबद्ध थापामगरलाई तपाईँ पनि चलचित्रकी नायिका भन्दा कम हुनुहुन्न आफूले निर्माण गरेको चलचित्रमा तपाई नै किन मुख्य पात्रमा देखिनु भएन त ? भन्ने प्रश्नमा उनले हाँस्दै जवाफ दिइन् “हा! हा! हा! मान्छेको एउटा चासोको विषय हुँदो रहेछ, कार्यक्षममताको उत्कृष्टता र मन भित्रको सन्तुष्टिको फ्युजन मिल्नु पर्छ नि! तर मलाई पर्दा पछाडिकै जिम्मेवारीमा बढी सन्तुष्ट महसुस भएको छ, यहि भूमिकालाई अझै निखार्न चाहन्छु ।”
चलचित्र निदेर्शक अशोक आलेमगरले ‘दिलसरा’मार्फत अन्धविश्वासी मूल्यमान्यताले व्यक्ति, परिवार र समाजमा पारेको असर र यसबाट कसरी बच्न सकिन्छ भन्ने पक्षलाई जोडतोडले प्रस्तुत गरिएको बताएका छन् । उनका अनुसार चलचित्रमा समाजमा महिलाको सङ्घर्ष र सफलतालाई विषेश जोड दिइएको छ ।
“मैले यस अगाडि पनि केहि मगर चलचित्रहरुमा अभिनय गरेको छु, कुनै चलचित्र निर्देशन पनि गरेको छु, मलाई लाग्छ दिलसरा चलचित्रले मेरो आगामी यात्रामा थप सहयोग पुग्ने छ, यसमा पक्कै नयाँ मसला दिन कोसिस गरेको छु, चलचित्र हेरेपछि दर्शकले आफै मूल्याङ्कन गर्नुहुनेछ”उनले भने ।
पोखरा निर्मलपोखरी र आसपासका पर्यटकीय स्थलहरुलाई मुख्य केन्द्रबिन्दु बनाएर छायांकन गरिएको चलचित्रले समाजको यथार्थ परिवेशलाई मात्रै उजागर गरेको छैन, यहाँका पर्यटकीय स्थानहरुको पनि समाहित गरिएको छ, जसले यहाँका पर्यटन प्रवर्धमा पनि सहयोग पुग्ने अर्का चलचित्र निर्माता हर्क आलेमगरको विश्वास छ ।
‘दिलसरा’ चलचित्र भावी पुस्ताका लागि उत्कृष्ट दस्तावेज सावित हुने चलचित्रका अर्का निर्माता तथा पटकथा लेखक मिना थापामगरले दावी गर्छिन् । समाजमा एउटा महिलाले अगाडि बढ्न कति सङ्घर्ष गर्नुपर्छ भन्ने पक्ष समेटिएकोले दिलसरा चलचित्रले विषेश गरी महिला जमात र सिंगै समाजलाई प्रेरणा दिनेमा उनी ढुक्क छिन् । दुई घण्टा तीस मिनेटको चलचित्रले प्रदर्शन अवधिभर दर्शकलाई होल्ड गर्ने छ भन्ने उनको आशा समेत छ । “धार्मिक, सांस्कृतिक रुपमा धनी हाम्रो समुदायलाई आधार बनाएर अब हामी पनि राजनैतिक, आर्थिक, भौतिक, नैतिक र बौद्धिक रुपमा राज्यका उच्च ओहोदामा पुग्नु पर्छ भन्ने विषयलाई चलचित्रमा जोड दिएको छ”, उनले थपिन्, “दिलसरा अरु मगर चलचित्र भन्दा फरक पक्कै छ, आशा छ, चलचित्र पुरै अवधि दर्शकलाई मनोरञ्जन दिन सफल हुने छ ।”
चलचित्रमा पुरुष पात्रका रुपमा मुख्य भूमिकामा कल्याण रानामगरलाई देख्न सकिने छ । विभिन्न म्युजिक भिडियो र ‘भरोसा युवा’ नामक टेलिसिरियल जस्ता माध्यमबाट आफ्नो दमदार अभिनय प्रस्तुत गरिसकेका रानामगर चलचित्रको पर्दामा भने पहिलो पटक मौका पाएका हुन् ।
कथावस्तुमा आफूलाई सजिलै ढाल्न सक्ने क्षमता भएका उनी यस चलचित्रमा लाहुरेको भूमिकामा सिङ्गो लाहुरेहरूको जीवनशैली र बाध्यात्मक सामाजिक भोगाइको प्रभावलाई अभिनयमार्फत दर्शकको माझमा आफूलाई प्रस्तुत गरेका छन् । यो चलचित्रले आफ्नो कलाकारिताको यात्रालाई थप बढावा दिनेमा उनी ढुक्क छन् ।
‘मेनोको फिल्मस् एण्ड मिडिया हाउस’ को ब्यानरमा निर्मित चलचित्रमा रानामगरसँगै सृष्टि राना मगर, सुस्मिता पुन मगर, मीन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारहरूले अभिनय गरेका छन् ।