पोखरा । पोखरा १६ बाटुलेचौरमा रहेको प्रगति माध्यामिक विद्यालयले आफ्नो ३४ औँ वार्षिकोत्सवको अवसरमा प्रगति नाट्य उत्सव २०८१ कार्यक्रम आयोजना गर्यो । फरक शैलीमा वार्षिकोत्सव मनाउने क्रममा यो वर्ष ५ वटा फरक–फरक नाटक मञ्चन गरिएको विद्यालयले जनाएको छ । यसका अलावा कला प्रदर्शन, फुड स्टल, बच्चाले बनाएका हस्तकलाका सामानहरू प्रदर्शन लगायतका कार्यक्रम समेत आयोजना गरिएको थियो ।
नाटक मञ्चन हेर्ने सबैको राम्रो प्रतिक्रिया पाएकोमा कलाकार समेत उत्साहित बनेका छन् । हाल कक्षा ११ मा अध्ययनरत सनिता थापाले तीन वर्षदेखि नाटक कक्षा लिएको बताइन् । कक्षा ९ मा हुँदा नाटक मञ्चनमा भाग लिएकी उनको अभिनयमा जाने रुची थियो । त्यसलाई अगाडि बढाउन उनलाई सहज बन्यो । उनले विभिन्न प्रकारका नाटक गरेको सुनाइन् । विद्यालयले अवसर दिएको बताएकी उनले नाटक मार्फत इमोसन कन्ट्रोल गर्न मात्र नभएर कतिबेला के गर्ने भन्ने समेत सिक्न पाएको बताइन् । ३ वर्ष अगाडिबाट नाटक सिक्न थालेका निश्चल कार्कीले करेसा कन्सर्ट नाटकमा काम गरे । जसले नाटक गर्ने उत्सुकता थप बढाएको र निरन्तर नाटकमा जोडिरहेको बताए ।
अर्की विद्यार्थी आरुषी पौडेल नाटकले सेल्फ डेभलपमेन्टमा धेरै मद्दत पुर्याएको र डर हटेको सुनाइन् । ढुक्क बोल्न सिकाएको रितिका खनालको भनाई छ । धैर्यता गर्न समेत उनलाई नाटकले सिकायो । इमोसन कन्ट्रोल गर्न सिकेको बताएका रियाज सुनारले पढाइ र नाटक दुवैलाई सँगसँगै अगाडि बढाएको बताए । अघिल्लो वर्ष नाटक कक्षामा भाग लिएकी सजना पौडेले यो वर्ष नाटकमा अभिनय गर्न अवसर पाइन् । उनले नाटकले धेरै सिकाएकोले सहज भएको बताइन् । यही वर्ष कक्षा ८ मा भर्ना भएकी सन्ध्या केसीले आमा नाटकमा अभिनय गरिन् । नाटकमा अभिनय गर्दा धेरै कुरा सिक्ने अवसर पाउदा साह्रै खुसी लागेको बताइन् । विद्यालयमा शुक्रबार हुने नाटक कक्षा सहज भएको बताइन् । तीन वर्षदेखि नाटक कक्षा लिउका विषाल सुनारले नाटकले समाजमा घुलमिल हुन सजिलो बनाएको बताए ।
नाटकले सिकाइ र भाषिक विकासमा प्रत्यक्ष संलग्न गराउने भएकोले विद्यार्थीको व्यक्तिगत, सामाजिक, चारित्रिक विकासमा समेत सहयोग पुग्ने विद्यालयको अपेक्षा रहेको प्रगति माध्यामिक विद्यालयका सूचना अधिकारी जयराम पौडेलले बताए । नाटक विधा मार्फत विद्यार्थीलाई अगाडि बढाउदा उनीहरूमा आत्मबलको विकास, भाषिक सीपको विकास, शिघ्र निर्णय लिन सक्ने क्षमताको विकास हुने गर्दछ । आत्मविश्वासका साथ आफूलाई रूपान्तरित रुपमा प्रस्तुत गर्ने क्षमता विद्यार्थीमा नाटकले बढाउँछ । नाटक उत्सवमा मञ्चन भएका नाटक विद्यार्थीले मात्र नभएर अभिभावकले समेत अवलोकन गरे । आफ्ना बाबुनानीको क्षमता हेर्न पाउँदा उनीहरू खुशी थिए । यो फरक प्रकारको अभियानले छुट्टै प्रकारको उर्जा प्राप्त भएको भन्दै सूचना अधिकारी पौडेलले प्राप्त सकारात्मक प्रतिक्रियाका कारण आगामी दिनमा कार्यक्रमलाई थप परिस्कृत गराएर लैजान प्रोत्साहन मिलेको सुनाए ।
२०४७ सालमा स्थापना भएको विद्यालयले स्थापना कालदेखिनै नाटकलाई विद्यालयको अतिरिक्त क्रियाकलापको एउटा अङ्गको रुपमा रूपान्तरण गरेको जनाएको छ । यो विद्यालयमा नाट्य गतिविधिलाई अगाडि बढाउन साहित्यकार रङ्गकर्मी स्व. प्रकट पङ्गेनी शिवको योगदान महत्वपूर्ण रहेको छ ।
यो वर्ष काठमाडौँमा भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा यो विद्यालयका विद्यार्थीले भूत नाटक मञ्चन गरेका थिए । पोखरा थिएटरले आयोजना गर्ने विद्यालय नाटक महोत्सवमा समेत निरन्तर रुपमा नाटक प्रस्तुत गर्ने गरेका छन् । कक्षागत रुपमा हुने क्रियाकलापमा नाटकलाई अतिरिक्त क्रियाकलापको प्रमुख अङ्गको रुपमा राख्दा विद्यार्थीको आकर्षण बढेको विद्यालयले जनाएको छ । अहिले नाटक तर्फ १ सय ५० जना विद्यार्थी प्रत्यक्ष रुपमा सहभागी र अप्रत्यक्ष रुपमा २ सय ५० जना विद्यार्थीको संलग्नता रहने गरेको छ । नर्सरी देखि कक्षा १२ सम्म १२ सय जना विद्यार्थी अध्ययन गर्ने यो विद्यालयमा १ सय जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । विद्यार्थीको बहुआयामिक प्रतिभालाई प्रस्फुटन गर्ने र सबै विद्यार्थीको प्रतिभा उजागर गर्न यसले मद्दत पुर्याएको छ ।
पोखरा थिएटरका अध्यक्ष परिवर्तनले विद्यालयले वार्षिकोत्सवमा गरेको नाट्य महोत्सव अनुसरण गर्ने खालकाे कार्य भएको बताए । नाटक महोत्सवको सहकार्य पोखरा थिएटरले गरेको बताएका उनले विभिन्न जनराका ५ वटा नाटक मञ्चन गरिएको जनाए । छुट्टै नाट्य हल निर्माण गरेर मञ्चन गरिएको नाटकले विद्यार्थी र अभिभावकको ध्यान खिचेको उनकाे अनुभव छ ।
मञ्चन भएका नाटकमा ज्यानमाया गिती नाटक थियो । रोल नम्बर ४ र भ.. भ.. भ.. भुत बाल नाटक हुन् । आमा कबिता नाटक र बाहिरी खुल्ला स्पेसमा फोरुम थिएटर मार्फत तुलना नाटक मञ्चन गरिएको थियो । परिवर्तनले पोखराका विद्यालयमा सिकाइको प्रमुख माध्यम नाटक बन्दै गएको बताए । नाटक शिक्षणको लागि मात्र नभएर प्रतिभा प्रस्फुटनका लागि उतिकै महत्वपूर्ण विषय भएको भन्दै विद्यालय भित्र नाटकघर निर्माण गरेरै काम गर्नु प्रंशसनिय कार्य भएको उनले बताए ।
