पोखरा । साङ्गीतिक विरासत फर्काउन पोखरामा आउँदो शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँग सहकार्यमा यही माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । नब्बेको दशकमा व्याण्डहरूको राजधानी बनेको पोखराको विरासत फर्काउन कार्यक्रम गर्न लागेको कार्यक्रम मूल संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल ७ वटा व्याण्डहरुले प्रस्तुती दिनेछन् ।
कार्यक्रम संयोजक श्रेष्ठका अनुसार शनिबार कन्दरा (विवेक श्रेष्ठ), डि–मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली व्याण्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली व्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस व्याण्ड (प्रकाश राना), मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ) गुञ्जिनेछन् । कार्यक्रम नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता एवम् गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने उनले बताए ।
व्याण्डहरूको राजधानी पोखराको विरासत फर्काउन कार्यक्रम कोशेढुङगा सावित हुने आयोजक पोखरा साङ्गीतिक कलाकार सङ्घ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । कुनैबेला पोखरा व्याण्डहरूको राजधानी थियो । ९० को दशकमा पोखराका व्याण्डहरूले देश, विदेशमा आफ्नो कला र संगीतमार्फत ध्यान तानेको थियो,उनले भने,‘समय अन्तरालमा आ–आफ्नो व्यस्तता र बाध्यताले गाँज्दा यो पहिचान बिस्तारै सुस्ताउँदै गयो । तर फेरी एकपटक जुर्मुराउने बेला आएको अनुभूति भएपछि त्यही विरासत फर्काउनका लागि यो कार्यक्रम गर्न लागेका हौं ।’
सुसुप्त अवस्थामा रहेका पुराना साङ्गीतिक व्याण्डहरूको पुनर्जागरण गर्ने र नयाँ पुस्तालाई सङ्गीतमा लागेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदैँ यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको सङ्घका सचिव भाष्करध्वज श्रेष्ठले बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएपनि व्यवहारिक रुपमा लागू नभइरहेको सन्दर्भमा यस कार्यक्रममार्फत पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिनु हो,उनले भने,‘कार्यक्रममार्फत पोखरालाई रिब्राण्डिङ गर्ने, गीत, संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुव्र्यसनबाट जोगिन युवालाई संगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्नुपनि कार्यक्रमको उद्देश्य हो ।’
कार्यक्रममा सहभागिले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्नेछन् । गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपती गोरे गुरुङले ब्याक टु नाईन्टिज कार्यक्रममार्फत विश्वको ध्यान फेरी एकपटक पोखरामा तानिने बताए । उनले भने,‘नब्बेको दशकमा हुर्किएको समयसँग आफूलाई फर्काएर पुनः प्रेमी, प्रेमिका, श्रीमान, श्रीमतीसँगको माया प्रगाढ बनाउने अवसर यस कार्यक्रमले सिर्जना गर्नेछ । आफ्नो समयबारे आफ्ना सन्ततीलाई बताउने अवसरपनि यसले सिर्जना गर्नेछ ।’
कार्यक्रमका प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले पोखराको साङ्गीतिक आकाश फराकिलो बनाउन कार्यक्रमले सघाउने बताए । यसले पर्यटनको राजधानी पोखराको रिब्राण्डिङ गर्ने उनको भनाई छ । पर्यटन भनेको नेचर, कल्चर र एडभेञ्चर हो,उनले भने,‘कल्चरको मुख्य पाटो गीत, संगीत हो । अर्थात गीत, संगीत बिनाको पर्यटन सोंच्नपनि सकिदैन । त्यसैले पोखरा पर्यटनको राजधानी हो भने गीत, संगीतलाई सँगै लैजान जरुरी छ ।’ हरेक बेलुका पर्यटकहरु गीत, सङ्गीतमा झुम्मिने गरेकाले उनीहरुलाई आकर्षित गर्नपनि गीत, संगीतको विकास र प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड छ ।
कुमुदिनी होम्स र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी)को प्रस्तुतीमा हुने कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गण्डकी प्रदेश सरकारको सहकार्य रहेको छ भने पोखरा महानगरपालिका प्रवर्द्धकका रुपमा रहेको छ ।
