पोखरा । एनआरटीलाई सडनडेथमा हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा बिहीबार भएको खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा समेत थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा पहिलो ५ प्रहारमा दुवैतर्फबाट ४–४ गोल भएको थियो ।

सडनडेथमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापा नायक बने । उनले एनआरटीका खेलाडीको प्रहार बचाउने मात्र नभएर गोल समेत गरेर टोलीलाई जित दिलाए । थापा प्लेयर अफ द म्याच घोषित भए । दुवै टोलीका ९–९ जना खेलाडीले गरेर १८ वटा पेनाल्टी प्रहार गरे । जसमा चर्च ब्वाइजबाट ६ र एनआरटीबाट ५ गोल भयो । टाइब्रेकरमा चर्च ब्वाइजका नवीन लामा, मिलन राई, अकिन्स बाफर, अबायोमी फाकुन र प्रशान्त लक्षमले गोल गरे। सकल रेग्मीको प्रहार आकासियो। एनआरटीका अञ्जन विष्ट, जय गुरुङ, सुमित श्रेष्ठ, विशाल सुनार र राजीव लोप्चनले गोल गरे । एन्जल महर्जनको प्रहार भने बाहिरियो।

यसअघि भएको निर्धारित समयको २५औं मिनेटमा रिचर्ड विल्सनले गोल गर्दै एनआरटीलाई पहिलो अग्रता दिलाएका थिए । ६४औं मिनेटमा पेनाल्टीमार्फत नविन लामाले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा फर्काएका थिए । अब चर्च ब्वाइजले सेमिफाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिता अन्तरगत शुक्रबार भारतको थन्डरबोल्ट नर्थ युनाइटेड क्लब र सङ्कटा क्लबकाबीचमा खेल हुने आयोजक सहारा क्लबले जानकारी दिएको छ ।

तस्बिर : सुदर्शन रञ्जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0