पोखरा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले  एमालेमा उम्मेदवार बन्न आधारभूत तालिम अनिवार्य गरिएको बताएका छन् । नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको सहकार्यमा नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा बिहीबारदेखि आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले  अबदेखि एमाले पार्टीको आन्तरिक जीवनको प्रतिष्पर्धामा होस् वा सार्वजनिक ओहोदामा उठ्दाखेरि नागरिकता र पार्टी परिचय पत्रका अलावा आधारभूत तालिम उत्रिर्ण भएको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको खुलाएका हुन् ।  पार्टी केन्द्रीय कमिटी बैठकबाट गरिएको यो निर्णयले जरैदेखि पार्टीलाई वैचारिक र सङ्गठनात्मक हिसाबले सुदृढ गर्ने उनको विश्वास छ । 

उपमहासचिव ज्ञवालीले नेकपा एमाले र नेपाली काङ्ग्रेसको सत्ता सहकार्य मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लैजाने पहल भएको बतए । २०८४ साल सम्म दुई पार्टीको सत्ता सहकार्य हुने दावी गरे ।
‘नेकपा एमाले र नेपाली काङ्ग्रेसकाबीचमा प्रतिष्पर्धा र सहकार्यका छुट्टाछुट्टै क्षेत्र छन्,’ उनले भने,‘२०४८ सालदेखि अहिलेसम्मै आउँदा दुई पार्टी नै मुख्य प्रतिस्पर्धी भएपनि राजनीतिक स्थायित्वको लागि सहकार्य गरिएको हो ।’नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३२ सिट सत्ता स्वार्थमा दुरुपयोग गरेकाले त्यसलाई रोकेर राजनीतिक स्थायित्व दिन दुई पार्टीको सहकार्य भएको उनको भनाइ थियो ।

एमाले र काङ्ग्रेसले गत असारदेखि सहकार्य गरेपछि अर्थतन्त्र चलायमान भएको र लगानी बढ्दै गएको उनले सुनाए । राजनीतिक स्थायित्व, अर्थतन्त्रको विकास र समृद्धिलाई तीव्रता दिन एमाले नेतृत्वको सरकार लागि परेको उनको जिकिर छ। ‘लोकतन्त्र र अराजतकता सँगैजान सक्दैनन्,’उनले भने ,‘सामाजिक सञ्जालमा देखिएको विकृतिलाई रोक्नका लागि सरकारले अध्ययादेश ल्याएको हो, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति लक्षित छैन ।’ यो सरकारले सङ्कटलाई पार लगाएर मुलुकलाई समृद्धितर्फ डोहोर्‍याउने उनको धारणा थियो ।

एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको उद्‌घाटन सत्रमा नेकपा एमाले कास्की जिल्ला इन्चार्ज कृष्ण थापा, कास्की उपाध्यक्ष भेषराज बराल र सचिव दर्शन लामाले प्रशिक्षण कार्यक्रमको बारेमा बोलेका थिए । माघ २६ सम्म चल्ने प्रशिक्षण कार्यक्रममा १ सय ६२ जना सहभागी बन्ने उपाध्यक्ष बरालले जानकारी दिए । एमाले उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य एवं गण्डकी इन्चार्ज किरण गुरुङ सहितका नेताले प्रशिक्षण कार्यक्रममा सहजिकरण गर्नेछन् । आधारभूत तहको प्रशिक्षण कार्यक्रममा कुल १६ वटा सेसन हुनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0