पोखरा । २४ औं संस्करणको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा रङ्गशालामा मङ्गलबारदेखि आयोजना हुने प्रतियोगिताबारे आयोजक सहारा क्लब पोखराले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

फागुन ३ गते सम्म चल्ने प्रतियोगितामा ३ विदेशीसहित १२ टिमको सहभागिता रहने क्लबका बरिष्ठ उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब, ब्रिगेड ब्वाइज क्लब युके, सहारा क्लब पोखरा, थ्रीस्टार क्लब, एनआरटी क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, थन्डर नर्थ युनाइटेड क्लब सिक्किम, उज्वेकिस्तानको बल्याक बुल्स फुटबल क्लब र संकटा क्लबको सहभागिता रहने छ ।

प्रतियोगिताको उद्‌घाटन खेल माघ २२ गते आयोजक सहारा क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच हुने क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए । सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए, मा बिग्रेड ब्वाइज, आयोजक सहारा, पुलिस क्लब, एनआरटी, चर्च ब्वाइज र त्रिभुवन आर्मी रहेका छन् भने समूर्ह बी, मा थ्रीस्टार, मछिन्द्र, एपीएफ, संकटा, उज्वेकिस्तानको ब्ल्याक बुल्स र भारतको थन्डरबोल्ट नर्थ युनाइटेड रहेका छन् ।

दुई विदेशी टोली ब्रिगेड ब्वाइज र उज्वेकिस्तानको ब्ल्याक बुल्ससँगै त्रिभुवन आर्मी र थ्रीस्टार वाई सिधै पाएर क्वार्टरफाइनल खेल्नेछन् ।

विजेता टिमले १२ लाख १ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेताले ६ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् भने विधागततर्फ उत्कृष्ट हुनेले नगद रु। २५ हजार सहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि १ करोड ४२ लाख २० हजार रुपैयाँ खर्च र १ करोड ५१ लाख रुपैयाँ आम्दानी हुने आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलनमा बोल्दै सहारा युकेका अध्यक्ष कृष्ण गुरुङले सहाराले उदाहरणीय काम गरेको बताए । हिमश्री फूड्स प्रालिका निर्देशक किरण केसीले आफूहरू सदैव सहाराको साथमा रहेको बताउँदै प्रतियोगिताको सफलताको कामना गरे । पोखरा ९ का वडाअध्यक्ष दीपेन्द्र मर्सानीले आहा रारा पोखराको ब्रान्ड भएको बताए ।

कार्यक्रममा प्रतियोगिताको ट्रफी समेत सार्वजनिक गरिएको थियो । बचत रकम क्लबद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालकहरू आश्रित छन् । प्रतियोगिता हेर्नको लागि प्रि-क्वाटर र क्वाटरफाइनल खेलमा १ सय, सेमी फाइनलमा २ सय र फाइनलमा ३ सय को टिकट काट्नुपर्नेछ । भिआइपीको हकमा प्रि-क्वाटर र क्वाटरफाइनल खेलमा २ सय, सेमी फाइनलमा ४ सय र फाइनलमा ५ सय लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0