पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब र आयोजक टाइगर ग्रुपले पोखराले जितेको छ ।
पुलिसले पुरुषतर्फ गण्डकी प्रदेशलाई पराजित गर्दै उपाधि जितेको हो । पोखरा रङ्गशालाको भलिबल कोर्टमा भएको फाइनल खेलमा गण्डकीलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले उपाधि आफ्नो पोल्टामा पार्न सफल बन्यो । पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जितेको हो । पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २०–२५ ले गण्डकीलाई सुम्पिएको थियो । दोस्रो सेटमा १२–१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५–२१ को जित निकालेको थियो । चौथो सेट २५–२२ ले जित निकाल्दै पुलिस उपाधि चुम्न सफल रह्यो ।
यता सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई पराजित गर्दै आयोजक टाइगर ग्रुपले महिलातर्फको उपाधि जित्न सफल भयो । फाइनल खेलमा एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि हात पार्यो।
पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौ सेट धकेलिएको थियो । पाँचौँ सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो । पहिलोपटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमै उपाधि चुमेको हो ।
दुवै तर्फका उपाधि विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ र उपविजेता बनेका टिमले २ लाख ८५ हजार ५५५ रुपैयाँ हात पारे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पहल गहतराज र अम्फा सोमसुरात बने । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । पहल नेपाल पुलिस क्लब र अम्फा आयोजक टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगिता खेलेका थिए । सर्वोत्कृष्ट बनेका दुवैजनाले ट्रफीसहित २५ हजार ७७७ रुपैयाँ प्राप्त गरे ।
पुरुषतर्फ उत्कृष्ट स्पाइकर गण्डकीका रमनकुमार, सर्भर गण्डकीकै सञ्जुकुमार शाह, सेटर विवश आलेमगर, ब्लकर पुलिसका रविन नगरकोटी, लिबिरो आर्मीका ईश्वर थापा र प्रशिक्षक पुलिसकै चन्द्र कुँवर बने । महिलातर्फ उत्कृष्ट स्पाइकर एपीएफकी सरस्वती चौधरी, सर्भर एपीएफकै निरुता ठगुन्ना, सेटर टाइगर ग्रुपका अरुणा शाही, ब्लकर टाइगर ग्रुपकै नान्तिकान टुनिपो, लिबिरो न्यू डायमण्डकी सलिना श्रेष्ठ र प्रशिक्षक टाइगर ग्रुपका अर्जुन घिमिरे घोषित भए । विधागततर्फ उत्कृष्ट हुनेले ट्रफीसहित १० हजार ५५५ रुपैयाँ प्राप्त गरे ।
