पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ मा माघ २२ गतेदेखि सुरु हुने एच.पि.भि.खोप अभियान २०८१ लाई प्रभावकारी बनाउन तयारीमा तीव्रता दिइएको छ । जस अन्तरगत बिहीबार पोखरा ८ मा रहेको शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रमा वडा स्तरीय खोप समन्वय समिति र विद्यालयका प्रतिनिधि सहितको बैठक सम्पन्न भएको छ । 

पोखरा महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा बसेको बैठकले अभियानलाई प्रभावकारिता बनाउने निर्णय गरेको छ  । बैठकमा बोल्दै वडाध्यक्ष बरालले खोप लगाउने उमेर समुहका किशोरी नछुट्ने गरेर काम गर्नको लागि अभियानमा खटिएका सबैलाई आग्रह गरे । त्यसको लागि वडा तथा खोप समन्वय समितिको तर्फबाट साथ रहने विश्वास दिलाए । विगतदेखि आयोजना हुने विभिन्न खोप अभियानमा सबैबाट साथ पाइरहेको भन्दै यसपालिको अभियानमा समेत साथ र सहयोग रहने अपेक्षा उनले गरे । 

 

शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रका प्रमुख कुश्मराज सुवेदीले अभियानको बारेमा प्रष्ट पारेका थिए । प्रमुख सुवेदीले पोखरा महानगरपालिका वडा नं. ८ मा रहेका १४ वटा विद्यालयमा यो अभियान चल्ने जानकारी दिए । जस अनुसार जनप्रिय माविमा २ सय ९९, राम आधारभूत विद्यालयमा ८, पोखरा एकेडेमीमा ३३, रत्नज्योति माविमा ४७, सृजना माविमा ३ सय ८०, लिटिल स्टेप माविमा ६७, अम्मर ज्योतिमा २१ जनालाई खोप लगाइनेछ ।

यसैगरी पिस जोन एकेडेमीमा ४२, पोखरा क्रियटिभमा २२, लक्ष्मी आवासीय विद्यालयमा ४८, निलगिरी बोडिङ स्कुलमा ८८, शिशु विकासमा ८, नेशनल क्रियटिभमा ४४, न्यु मोडलमा ७७, सरस्वती माविमा ८४ जनालाई खोप लगाइनेछ । यसका अतिरिक्त स्वास्थ्य संस्था मार्फत ३५ जनालाई खोप लगाउने तयारी गरिएको छ । यसरी कुल १ हजार ३ सय ५ जनालाई खोप लगाउने गरेर तयारी अगाडि बढाइएको प्रमुख सुवेदीले  खुलाए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्य, पोखरा ८ का वडा सचिव झम्कनाथ पौडेल, शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रका सूचना अधिकारी सुनिता गिरी, खाेप अभियानका फोकल पर्सन दुर्गा आचार्य लगायतले अभियानको बारेमा बोलेका थिए । अभियान फागुन ६ गतेसम्म चल्नेछ । 

नेपालमा पाठेघरको मुखको क्यान्सरबाट प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुने गरेको र विभिन्न क्यान्सर मध्ये महिलाको मृत्यु हुनुमा पाठेघरको मुखको क्यान्सर मुख्य कारण हुने गरेको छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसबाट सङ्क्रमण भएर हुने गर्दछ । गन्हाउने पानी बग्ने, योनिबाट अनियमित तथा धेरै रगत बग्ने, रक्त अल्पता हुने, कमजोर महसुस हुने यसका लक्षणहरू हुन् । यो अभियानमा स्कुल जाने कक्षा ६ देखि १० सम्मका जुनसुकै उमेरका किशोरीहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई खोप लगाइनेछ ।

सरकारले याे अभियान माघ २२ देखि फागुन ६ गतेसम्म देशभरी सञ्चालन गर्दैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0