पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले किसानहरूको लागि जग्गाको समस्या रहेको बताएकी छन् । राष्ट्रिय किसान आयोगले पोखरामा आयोजना गरेको किसान सूचिकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन अवस्था सम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रममा बोल्दै उनले किसानलाई जग्गा व्यवस्थापन गर्नको लागि सोही अनुसारको नीति बनाउनुपर्नेमा जोड दिएकी छन् । जग्गा हुनेहरूले खेती गरिरहेको अवस्था नभएर जग्गाहरू बाझो रहिरहेको तथा किसानहरूसँग पर्याप्त जग्गा नहुँदा समस्यामा पर्ने गरेको उनको भनाइ थियो । कतिसँग जग्गा नै नभएको भन्दै यो समस्या समाधानका लागि ऐन र नीति बनाउनुपर्ने बताइन् । उनले प्रदेश सरकारले भूमि सम्बन्धी विधेयकको मस्यौदा तयार गरेको समेत खुलाइन् ।

मन्त्री श्रेष्ठले काम गर्ने क्रममा धेरै समस्या, अप्ठ्यारा र चुनौती रहेको भन्दै तीनिहरूबाट शिक्षा लिँदै अगाडि बढ्नुपर्नेमा जोड दिइन् । देशको सबैभन्दा बढी जनसङ्ख्या जोडिएको क्षेत्र कृषि भएपनि अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकिरहेको उनको भनाइ थियो । तीन तहका सरकारबीचमा समन्वय नहुँदा समेत समस्या भएको धारणा उनले राखिन् । नीति तथा कार्यक्रम र बजेट बनाउँदा तीन तहको सरकार आ-आफ्नो सुरले बनाउने गरिएको भन्दै एक अर्कामा समन्वय गरेर अध्ययन गरेर काम गर्न सके प्रभावकारी हुने खुलाइन् । स्थानीय, प्रदेश र सङ्घ सरकारले गर्ने कामको बारेमा निर्क्यौल गर्न सक्दा किसानलाई धेरै सेवा सुविधा दिएर उत्साह थप्न सकिने विश्वास उनको छ । उनले विगतका कामबाट शिक्षा लिँदै किसानलाई छुनेगरी र किसानलाई हुनेगरि अगाडि बढ्नुपर्ने खुलाइन् । उनले आयातलाई न्यूनिकरण गरेर आत्मनिर्भर हुँदै निर्यात मा पनि जाने गरी कृषि व्यवसायलाई व्यवसायिकरण यान्त्रिकीकरण र प्रवर्द्धन गर्दै अगाडि जानुपर्ने बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा र मनाङ्गका पालिकाका जनप्रतिनिधि, कर्मचारी र किसानका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय किसान आयोग र किसान अधिकारका बारेमा राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेलले प्रस्तुती राखेकी थिइन् । सहभागीले आयोलाई लिखित तथा मौखिक सुझाब दिएका थिए । उनीहरूले खेतीयोग्य जमिन मासिदै गएकोमा चिन्ता व्यक्त गरे । किसान आयोगमा राजनीतिक दलको प्रभाव देखिन नहुने गरी संवैधानिक आयोगकको रुपमा अगाडि बढाउनुपर्ने सहभागीको भनाइ थियो । उनीहरूले आफूलाई परेका समस्याबारेमा समेत जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0