पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शनिबारदेखि सुरु हुने प्रतियोगिताको ट्रफी शुक्रबार एक कार्यक्रमकाबीचमा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले सार्वजनिक गरे ।

उनले पोखरामा खेलकुदको अथाह सम्भावना रहेको बताए । खेलकुदको राजधानीको रुपमा पोखरालाई स्थापित गर्न यसले महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ थियो । प्रतियोगिताको लागि प्रदेश सरकारले निरन्तर सहयोग गर्दै आएको र आगामी आर्थिक वर्षमा सहयोग रकम थप वृद्धि गर्ने प्रतिबद्धता उनले जनाए ।

पहिलो खेल बिहान १० बजेबाट सुरु हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । प्रतियोगिताको उद्‌घाटन खेल भने दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । उद्‌घाटन खेल महिलातर्फ आयोजक टोलीले खेल्नेछ । अरुणा शाहीको कप्तानीमा रहेको आयोजक टोलीमा थाइल्याण्डका ३ खेलाडी अनुबन्ध भएका छन् ।

पहिलो दिन ३ खेल हुनेछन् । प्रतियोगितामा २ विदेशी टोलीसहित ६–६ टोलीले सहभागिता जनाएका छन् । विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले सहभागिता हुँदैछन् ।

महिलातर्फ सहभागी टोलीमा नेपाल एपीएफ क्लब, टिपटप न्यु डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । यसपालि आयोजकले छुट्टै महिला टिम सहभागी बनाएको छ । प्रतियोगितामा सहभागी हुन अधिकांश टोली पोखरा आइसकेका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले प्रतियोगिताका लागि तीनवटै तहका सरकारबाट सहयोग प्राप्त भएको बताए । जसका कारण हौसला उर्जा मिलिरहेको उनले खुलाए । प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् ।

माघ १९ गतेसम्म चल्ने प्रतियोगिताका विजेता टोलीले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेताले समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगिताको खेल हेर्नका लागि अनलाइनबाट टिकट काट्न सकिनेछ । इसेवामार्फत अनलाइन टिकट काट्न सकिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0