पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले वरिष्ठ कलाकार प्राध्यापक राधेश्याम मुल्मी र गायक तथा सङ्गीतकार रामभक्त जोजिजूलाई पुरस्कार अर्पण गरेको छ । मुल्मीलाई ललितकला पुरस्कार २०८० र जोजीजूलाई सोम बज्राचार्य स्मृति संगीत पुरस्कार–२०८० अर्पण गरिएको हो ।
पोखरेली युवा सांस्कृतिक परिवारले गीतसङ्गीत र कलामा क्रियाशील स्रष्टालाई हरेक २ वर्षमा प्रदान गर्ने यी पुरस्कार यसपालि मुल्मी र जोजिजूलाई अर्पण गरेको हो । मुल्मी र जोजिजूलाई वरिष्ठ कलाकार दुर्गा बराल वात्सायन, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त श्रेष्ठ, साहित्यकार तीर्थ श्रेष्ठ लगायतले नगद, ताम्रपत्र र दोसल्लासहित पुरस्कार अर्पण गरे ।
नेपाली चित्रकला तथा गीतसङ्गीत क्षेत्रमा दिएको योगदानको कदरस्वरूप उक्त पुरस्कारबाट सम्मान गरिएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष रिता अधिकारी रितुले जानकारी दिइन् ।
वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी ललितकला पुरस्कार सञ्चालित छ । वि.स.२००६ सालमा पोखरामा जन्मेका मुल्मीले पञ्जाब विश्वविद्यालयको ललित कला विभागबाट ग्राफिक डिजाइनमा एमएफए पूरा गरेका थिए । उनीले स्टेज टेक्निक र लाइटनिङमा विशेष तालिमका साथै ग्राफिक आर्टमा अतिरिक्त प्रशिक्षण समेत लिएका छन् । उनी त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पसमा सहप्राध्यापक र त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रूपमा कार्यरत रहि हाल सेवा निवृत्त भइसकेका छन् । पुरस्कार अर्पण समारोहको पूर्वसन्ध्यामा हिजो राधेश्याम मुल्मीको एकल चित्रकला प्रदर्शनी भएको थियो ।
पोखरामा जन्मिएर पोखरालाई नै कर्मक्षेत्र बनाई गीतसङ्गीतका क्षेत्रमा ३ दशकदेखि गायन क्षेत्रमा क्रियाशील जोजिजूले २०५१ सालमा रेडियो नेपालमा स्वरपरीक्षा उत्तीर्ण गरी ‘समाल ती पाइलाहरू’ बोलको गीत रेकर्ड गराएका थिए । २०५५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा ‘उडेर जुन छुन्छु भन्थे’ गीत गाएर उनी प्रथम भए । उक्त गीतले उनको परिचय फराकिलो बनाएको थियो ।
मञ्जुश्री सङ्गीत महाविद्यालयमार्फत इलाहावादबाट सङ्गीत शिक्षा लिएका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साङ्गीतिक कार्यक्रममा आफ्नो प्रतिभा देखाइसकेका छन् । निरन्तर लगाव र महत्वपूर्ण योगदान दिएका उनले थुप्रै अवार्ड र पुरस्कार पाइसकेका छन् । गायक तथा सङ्गीतकार सोम बज्राचार्यको स्मृतिमा उनकी धर्मपत्नी शान्ति बज्राचार्यले अक्षयकोष खडा गरी पोयुसांपद्वारा सञ्चालन गर्ने गरी सो पुरस्कार स्थापना गरेकी थिइन् । यो पुरस्कारबाट यसअघि बिमाकुमारी दुरा, सामसुङ तामाङ, नवराज बराल, रुपेनबाबु थापा, सुनिल थापा, कर्ण दास र श्यामलाल श्रेष्ठ पुरस्कृत भइसकेका छन् । जोजिजूले उडेर जुन छुन्छु र के वर मागी गीत समेत प्रस्तुत गरे । परिवारका पूर्व अध्यक्ष जीवनसागर भण्डारी पुरस्कृत दुवै श्रष्टाको जीवनी प्रस्तुत गरेका थिए । परिवारका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव एम डि काफ्लेले गरेका थिए ।
