पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले प्रदान गर्ने ललितकला पुरस्कार २०८० को पूर्वसन्ध्यामा प्राध्यापक राधेश्याम मुल्मीको एकल चित्रकला प्रदर्शनी आयोजना भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई प्रत्येक दुई वर्षमा प्रदान गर्ने ललितकला पुरस्कार यसवर्ष वरिष्ठ कलाकार प्राध्यापक राधेश्याम मुल्मीलाई प्रदान गर्दैछ ।  पुरस्कार अर्पण समारोहको पूर्वसन्ध्यामा पुरस्कृत हुन लागेका मुल्मीको शुक्रबार परिवारको कला विभागको आयोजनामा कला संयोजक हेमकान्ती गुरुङको आई डब्लु एस हेमकान्ती आर्ट ग्यालरी रानीपौवा पोखरामा चित्रकला प्रदर्शनी भएको हो ।

 प्रदर्शनी कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले मुल्मीको चित्रकलाबाट आफू प्रभावित भएको बताउँदै चित्रहरूमा नेपाली मौलिकपन भेटिएको टिप्पणी गरे ।

प्रदर्शनीमा २०४१ सालदेखि प्राध्यापक मुल्मीले तयार पारेका १५ वटा आर्ट र ७ वटा पोष्टर राखिएको थियो । सन् १९५० मा जन्मिएका मुल्मीले ५ वर्षको उमेरदेखि नै चित्र बनाउन थालेका थिए ।  सन् १९७८ मा पञ्जाब विश्वविद्यालयको ललित कला विभागबाट ग्राफिक डिजाइनमा एमएफए पूरा गरेका मुल्मी त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पसमा सहप्राध्यापक र त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रूपमा कार्यरत रहि हाल सेवा निवृत्त भइसकेका छन् ।   

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष रिता अधिकारी रितुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पोखरेली युवा सांस्कृतिक परिवारका सचिव एमडी काफ्ले सञ्चालन गरेका थिए । 

 पोखरेली युवा सांस्कृतिक परिवारले प्रत्येक २ वर्षमा उक्त पुरस्कार प्रदान गर्छ । वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी ललितकला पुरस्कार सञ्चालित छ । पुरस्कार अर्पण समारोह शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा दिउँसो १ बजे हुनेछ । सोही कार्यक्रममा सोम बज्राचार्य स्मृति पुरस्कार रामभक्त्त जोजिजूलाई अर्पण गरिनेछ ।  परिवारले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्या समेत त्यही हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0