पोखरा । पोखराको पृथ्वीचोकमा रहेको बसपार्कमा  ढलानसहितको पक्की बाटो निर्माणको काम सुरु भएको छ । शुक्रबार बाटो निर्माणको पोखरा महानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानीले उद्‌घाटन गरेका हुन् ।

पोखरा ९ वडा कार्यालय र पृथ्वीचोक बसपार्क टोल विकास संस्थाको पहलमा एक महिनाभित्र सक्नेगरी बाटो निर्माण कार्य सुरु भएको हो । ढलान बाटोको सुरुवात गर्दै वडा अध्यक्ष मर्सानीले यो सुरुवात व्यवस्थित बसपार्क निर्माणको पहिलो चरणको भएको बताए । उनले गण्डकी प्रदेशको राजधानी तथा देशकै पर्यटकीय राजधानीका रुपमा घोषणा भएको पोखराभित्र व्यवस्थित बसपार्क नहुनु दुःखद कुरा भएकाले वडा र स्थानीय बासिन्दाको यो प्रयासले प्रदेश र सङ्घीय सरकारलाई समेत घचघच्याउने विश्वास व्यक्त गरे ।

वडा कार्यलयको साढे एघार लाख लागत र स्थानीय बासिन्दाहरूको करिब १६ लाख आर्थिक सहयोगमा बाटो निर्माण कार्य सुरु भएको हो । पृथ्वीचोक बसपार्क टोल विकास संस्थाका उपाध्यक्ष तथा बाटो निर्माण समितिका उपाध्यक्ष गङ्गाराज पौडेलका अनुसार उक्त बाटो ८ मिटर चौडाइ र एक सय ८० मिटर लम्बाइको हुनेछ । 

राजनीतिक दलका नेताहरूले प्रत्येक कार्यक्रममा पोखरा बसपार्कलाई आधुनिक र सुविधा सम्पन्न सिटी बसपार्कको रुपमा विकास गर्ने दृढता व्यक्त गर्दै आएपनि कसैले पनि काम सुरु नगरेकोमा वडा नं‍.९ का जनप्रतिनिधिले राम्रो कामको सुरुवात गरेकाले आफूहरूले साथ दिएको पौडेलको भनाई छ ।  

यसअघि गतवर्ष वडा नं ९ को पहलमा बसपार्कमा नाला निर्माण गरिएको थियो ।  नेपालका योजनाबद्ध सहर बनाउने उद्देश्यले २०३०/३१ मा पोखरामा भौतिक विकास गुरुयोजना लागू भएको थियो । त्यसपछि २०३२ सालदेखि निर्माण सुरु गर्ने भनेर जग्गा अधिग्रहण सुरु गरिएको पोखरा बसपार्क हालसम्म पनि व्यवस्थित हुन सकेको छैन ।

आफूले निर्वाचनमा गरेको वाचा अनुसारै ढलानसहित पक्की सडक निर्माण सुरु भएकोले अब व्यवस्थित बसपार्क बनाउनेतर्फ अगाडि बढ्ने वडाध्यक्ष मर्सानीले बताए । यसको लागि स्थानीयले साथ दिएको उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
2