पोखरा । बुधबारदेखि पोखरा १५ कार्यालयले आयोजना गर्ने बृहत् खेलकुद महोत्सवको तयारीको सम्पूर्ण तयारी पुरा भएको छ । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकस्सी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुनेछ ।
वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न सङ्घसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन बुधबार बिहान ११ बजे वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानमा हुने वडा सचिव युवराज पौडेलले जानकारी दिए ।
महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीका अनुसार अघिल्ला दुई महोत्सवभन्दा थप परिष्कृत र भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी गरिएको छ । वडा स्थित विभिन्न सङ्घसंस्थाले पनि सहयोगी हात अघि बढाएका छन् । बालबालिकाको क्षेत्रमा कार्यरत ‘राइट फर चिल्ड्रेन’ ले संस्थागत सहयोग गरेको छ ।
वडाध्यक्ष तोरणबहादुर बानियाँले वडा खेलकुद महोत्सवको अवधारणा अनुरूप स्थानीय तहमा खेलकुदको माध्यमबाट समुदायको सर्वाङ्गीण विकास गर्न केन्द्रित रही महोत्सवलाई निरन्तरता दिइएको बताए । उनले यस्ता गरिमामय सङ्घसंस्थाको सहयोगबाट वडा उत्साहित बनेको र आफूहरूको अभियानलाई अघि बढाउन मद्दत पुग्ने बताए । प्रतियोगिताको टाइ सिट र समय तालिका यस अगाडि नै सार्वजनिक भैसकेको छ ।
