पोखरा । हेमजामा रहेको तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको छ । प्रकृतिका साथीहरूको आयोजनामा शनिबार भएको लाटोकोसेरो संरक्षण विशेष शिविरमा कास्कीको पोखरा महानगरपालिका वडा नं. २५ मा रहेको तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको हो ।
कार्यक्रममा समुदायको भेलाले करिव १ सय दशमलब ७४ हेक्टर क्षेत्रफल रहेको तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरेको हो । उक्त अवसरमा तिब्रेकोट सामुदायिक बनका उपभोक्ता समूहका अध्यक्ष विशालजङ्ग कुँवरले भेलाको निर्णय सुनाउँदै लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरेका हुन् ।
घोषण सँगै उक्त बनमा गुलेलीको प्रयोग गरि लाटोकोसेरो लगायतका कुनै पनि चराचुरुङ्गीलाई मार्न नपाइने साथै कुनै पनि हानी नोक्सानी नपुर्याउने निर्णय गरिएको छ ।
लाटोकोसेरो संरक्षण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दा वन समूहको विधान र वन कार्ययोजनालाई असर नपर्ने गरी कार्यक्रमहरू सञ्चालन गर्ने समूहका उपाध्यक्ष कृष्ण बहादुर कुँवरले जानकारी दिए ।
यस वन क्षेत्रमा लाटोकोसेरो अध्ययन तथा संरक्षणमा पहल गर्ने, लाटोकोसेरो लगायत अन्य चराचुरुङ्गीको गुड/वासस्थान बनाएका रूखहरूको संरक्षण पहल गर्ने, पुराना बूढा रूख संरक्षण गर्ने, लाटोकोसेरो संरक्षणका लागि आगामी वर्ष देखि केही रकम विनोयोजन गरी समन्वयमा प्रचार प्रसार गर्ने निर्णय गरिएको उपाध्यक्ष कुँवरले जानकारी दिए ।
भेलाले गरेका निर्णयलाई डिभिजन वन कार्यालय कास्की, सव डिभिजन वन कार्यालय कुँडहर, वडा कार्यालय हेमजा र सरोकारवाला निकायहरूमा जानकारी दिइने कँवरले बताए ।
उनका अनुसार प्रकृतिका साथीहरूको संस्थासँग सहकार्य र प्रशिक्षणबाट नै उपभोक्ता समूह यो अभियानमा जुटेको हो ।
शिविरमा प्रमुख अतिथिको रुपमा रहेका पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले लाटोकोसेरो संरक्षणको कार्यमा वडाबाट सँधै सहयोग रहने बताए ।
‘हरेक जीव जन्तुको संरक्षणमा वडाले पनि सचेतनामूलक कार्यक्रमका लागि बजेट नै विनियोजन गरेर कार्यक्रम गरेको छ’ अध्यक्ष तिम्सिनाले भने,‘आगामी दिनमा पनि यहाँहरूसँगको सहकार्यमा नै वडाले कार्यक्रमहरू ल्याउने छ ।’
तिब्रेकोट सामुदायिक वनका उपभोक्ताले नै यस वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गर्नु प्रशंसनीय कार्य भएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेको भनाई छ ।
‘नेपाल सरकारले जे चाहेको छ समुदायले नि त्यही काम गर्नु प्रशंसनीय कार्य रहेको छ’ प्रमुख काफ्लेले भने,‘ अन्य सामुदायिक वनमा पनि विभिन्न जनावरहरूको संरक्षण क्षेत्र रुपमा काम गरेको उदाहरण रहेका छन् । यस वनले पनि ल्याएको योजना पनि सफल हुने विश्वास लिएको छु ।’
उनका अनुसार अन्य सामुदायिक वनमा पनि संरक्षणका अभियान रहेकोमा नेपालमा सम्भवत लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरिएको यो पहिलो हो ।
उनले प्रकृतिमा नै रमानउन दिने गरी चरा चुरुङ्गी तथा जनावरको संरक्षण गर्नु पर्ने सुझाव दिए ।
प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले समुदायबाट नै यो अभियान संञ्चालन गर्नु आफैमा सुखद पक्ष रहेको बताए ।
‘हामीले गण्डकी प्रदेशमा थालेको अभियान मार्फत केही निश्चित ठाँउहरुमा गुलेली प्रतिवन्ध क्षेत्र घोषणा गर्ने तयारीमा जुटेका थियौ’ आचार्यले भने, ‘यहाँका उपभोक्तले गुलेली प्रतिवन्ध मात्र नभई विशेष संरक्षण क्षेत्र नै घोषण गरेर अभियानलाई थपा उत्साह प्रदान गर्ने काम गर्नुभयो । हाम्रो संस्था यहाँका उपभोक्ता प्रति आभार व्यक्त गर्दछ ।’
यो अभियानलाई पूर्णता दिनका लागि आफ्नो संस्थाबाट यहाँका उपभोक्ता समूहसँग सहकार्य गरेर काम गर्ने आचार्यले बताए ।
लाटोकोसेरो संरक्षणमा तीन दशक देखि लागि परेका प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्यले सन् २०२४ मा ह्टिवली अवार्डबाट सम्मानित भएका थिए । सोहि ह्टिवली अवार्डबाट प्राप्त पुरस्कार गण्डकी प्रदेशका कास्की, स्या·जा लगायतका जिल्लामा लाटोकोसेरोको अवैध व्यापार, चोरिसिकार नियन्त्रणका लागि तालिम, जनचेतना मुलक कार्यक्रम र लाटोकोसेरोका लागि कृतिम गुँड निर्माण लगायतका कार्यक्रम गरिएको छ ।
यस अवधिमा १ सय वटा कृतिम गुँड राखिसकेको जसमा २० वटा हेमजा रहेको आचार्यले जानकारी दिए । यो सँगै कास्कीको भद्रकाली वन, पुम्दी भुम्दी, स्या·जाक तथा म्याग्दीमा रहेका ५ वटा सामुदायिक वनमा गुलेली प्रतिवन्ध क्षेत्र घोषणा गर्ने लक्ष्य रहेको आचार्यले जानकारी दिए ।
जनचेतना मूलक कार्यक्रम अन्तर्गत बूढा रूखहरूको संरक्षण, गुलेली प्रयोग गरि चरा मार्न रोक, स्थानिय, विद्यार्थी, र समुदायकमा संरक्षण शिविर सञ्चालन गरिएको छ । केशवराज सापकोटा, बालकुमार गुरुङ, सुदर्शन पराजुली, आयुष ढङ्गाना, ज्योति शर्मा र दिपा गुरुङलाई संरक्षण दुत वनाइ एक वर्ष सम्म स्वयम्सेवकका रुपमा लाटोकोसेरोको अध्ययन तथा संरक्षणमा योगदान गर्ने जिम्मा दिइएको छ ।