लेखनाथ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरूको सङ्ख्यामा वृद्धि भएको हो ।
महोत्सवको तेश्रो दिन शनिबार २५ हजार दर्शकहरूले अवलोकन गरेको र १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।
महोत्सवमा शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र खड्का, सरिता लगायतले प्रस्तुती दिएका थिए भने हास्यव्यङ्ग्य तर्फ पवन खतिवडा ‘म्याकुरी’को प्रस्तुतीले दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो । यस्तै बेलुकापख लाइभ कन्सर्टमा रचना रिमाल र सुनिल गिरीको प्रस्तुतीले स्टेज तताएको थियो ।
शुक्रबार विद्यालयस्तरीय नृत्यतर्फ त्रिवेणी पब्लिक मावि पोखरा–२७, एपेक्स प्रि स्कुल पोखरा–३० र लेकसिटी एकेडेमी मन्टेश्वरी पोखरा–२६ ले नृत्य प्रस्तुत गरेका थिए । महोत्सवमा आइतबार लोकदोहोरी कलाकारहरू श्याम राना, भूमिका गिरी, शङ्कर विरही गुरुङ, बिन्दा परियार, टेक क्षेत्री, कमला गैह्रे, शिवहरी ढुङ्गाना र उमादेवी खनालको प्रस्तुती रहनेछ भने बेलुका लाइभ कन्सर्टमा सहिमा श्रेष्ठ, सन्तोष बस्याल र र्यापर शुसिलले प्रस्तुती दिनेछन् ।
लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश रहेका छन भने प्रबर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन ।