पोखरा । मेलमिलाप परिषदले पोखरामा आयोजना गरेको ८ दिने मेलमिलाप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्दै उच्च अदालत पोखराका न्यायाधीश मिलन कुमार राईले मेलमिलाप हाम्रो संस्कार भएको बताए । हाम्रो समाज विकासक्रमको अभिन्न अङ्ग मेलमिलाप भएको भन्दै हिजो माथिल्लो घरको ‘जेठा बा’ ले गर्ने काम अहिले मेलमिलापकर्ता गर्ने गरेको बताए । मेलमिलापलाई समाजमा हाउगुजीको रुपमा प्रस्तुत गर्न नहुने उनको भनाइ थियो । उनले मेलमिलाप सम्बन्धी धारणा फरक भएपनि सबैको लक्ष्य एउटा हुने भन्दै आफूले कर्ता, कर्म र परिणामको रुपमा यसलाई बुझ्ने गरेको बताए ।
प्रशिक्षण कार्यक्रमका मुख्य प्रशिक्षक राममणि गौतमले एउटा गरिब, निमुखा, न्याय प्राप्तिको लागि भौतारिरहेको मानिसले मेलमिलापको माध्यमबाट न्याय प्राप्त गर्न सकोस् भन्ने उद्देश्यले यसलाई अवलम्बन गरिने गरिएको बताए । मेलमिलाप सामूहिक कार्य भएको भन्दै सहभागीलाई थप निखारता ल्याउँदै कर्म क्षेत्रमा अगाडि बढ्न प्रशिक्षार्थीलाई आग्रह गरे। यो सामूहिक कार्य गर्नका लागि मेलमिलाप परिषदले पुलको काम गर्ने उनको भनाइ थियो । परिषदको गठन जनताको न्यायमा पहुँच पुर्याउनका लागि भएको मुख्य प्रशिक्षक गौतमले बताए । भविष्य केन्द्रित कार्य गर्न प्रशिक्षार्थीलाई उनको आग्रह छ । उनले सिकाइ अन्त्य नभएर सुरुवात भएको खुलाए ।
समापन समारोहमा प्रशिक्षार्थीको तर्फबाट राजाराम पौडेल र कृष्ण कुमारी गुरुङले बोलेका थिए । उनीहरूले तालिम फलदायी भएको भन्दै यस्तो महत्वपूर्ण तालिम आयोजना गरेकोमा आयोजक र मुख्य प्रशिक्षक प्रति सहभागि सबैको तर्फबाट आभार व्यक्त गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने २४ जना मेलमिलापकर्ता सहभागी थिए । यसरी सहभागी हुनेमा कृष्ण कुमारी गुरुङ, काशिका लम्साल, अर्जुन पौडेल, सोमनाथ लम्साल, रमेश प्रसाद शर्मा, प्रभास पराजुली, कुल प्रसाद अधिकारी, ज्ञानेन्द्रराज पन्त, अन्जना बराल सुवेदी, सरिता बाँस्तोला, रमेश प्रसाद भण्डारी, चुडामणि सुवेदी रहेका थिए ।
यसैगरी सुरज अधिकारी, रेशम गिरी, राजाराम पौडेल, गोविन्द प्रसाद अधिकारी, काशिनाथ घिमिरे, दीपेन्द्र पहारी, विश्वनाथ अर्याल, जीवन कुमार पौडेल, रुद्र लाल कुँवर, रच्चु आले, युवराज ढकाल र कमला श्रेष्ठ समेत तालिममा सहभागी बनेका हुन् ।
समापन समारोहमा न्यायाधीश राई र मुख्य प्रशिक्षक गौतमले सहभागीलाई प्रमाणपत्र वितरण गरे । पुष १३ गतेबाट सुरु भएको प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन मेलमिलाप परिषदका अध्यक्ष एवं सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले गरेका थिए । मेलमिलाप परिषदले प्रशिक्षक प्रशिक्षण तालिम पोखरामा पहिलोपटक आयोजना गरेको हो । समापन समारोहको सहजिकरण राजेश आचार्यले गरेका थिए ।