पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि आयोजना गर्ने बृहत् खेलकुद महोत्सवको तयारी तीव्रताका साथ अगाडि बढाएको छ । महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीका अनुसार अघिल्ला दुई महोत्सवभन्दा थप परिष्कृत र भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको छ ।

वडा स्थित विभिन्न सङ्घसंस्थाले पनि सहयोगी हात अघि बढाएका छन् । बालबालिकाको क्षेत्रमा कार्यरत ‘राइट फर चिल्ड्रेन’ ले पनि संस्थागत सहयोग गर्ने भएको छ । खेलकुद महोत्सव सहयोगार्थ उक्त संस्थाले दुई लाख ५० हजार रकम प्रदान गर्ने सम्झौता भएको छ । संस्थाले फोटो तथा भिडियोग्राफी, डिजिटल बोर्ड डिस्प्ले, खेलाडी जर्सी, साउण्ड सिस्टम तथा टेन्ट, कुर्ची व्यवस्थापनका लागि सहयोग गर्नेछ ।

वडा कार्यालयका तर्फबाट वडा अध्यक्ष तोरणबहादुर बानियाँ तथा ‘राइट फर चिल्ड्रेनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृति श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा महोत्सव संयोजक एवं वडा सदस्य आशिष भण्डारी, वडा सदस्य बलराम पौडेल, वडा सचिव युवराज पौडेल, ‘राइट फर चिल्ड्रेन’ का परियोजना प्रबन्धक सन्तोष गुरुङ, अधिकृत लक्ष्मी गौतमलगायतको उपस्थिति रहेको थियो ।

वडाध्यक्ष बानियाँले वडा खेलकुद महोत्सवको अवधारणा अनुरूप स्थानीय तहमा खेलकुदको माध्यमबाट समुदायको सर्वाङ्गीण विकास गर्न केन्द्रित रही महोत्सवलाई निरन्तरता दिइएको बताए । उनले यस्ता गरिमामय सङ्घसंस्थाको सहयोगबाट वडा उत्साहित बनेको र आफूहरूको अभियानलाई अघि बढाउन मद्दत पुग्ने बताए ।

‘राइट फर चिल्ड्रेन’ ले पोखरा १५ मा समुदायमा आधारित कार्यक्रम शिशु स्याहार केन्द्र (ईसीडी) शिवशक्ति टोल, निर्मल टोल, गैह्री गाउँ र पटनेरीमा सञ्चालन गरिरहेको छ । यस्तै, स्वास्थ्य शिविरहरू, शिक्षा सम्बन्धी कार्यक्रममा पनि सहयोग गरिरहेको छ । बालबालिकालाई पूरक कक्षा, माध्यमिक तहका विद्यार्थीहरूलाई वृत्ति परामर्श दिएर वडासँग समन्वय सहकार्य गरिरहेको परियोजना प्रबन्धक सन्तोष गुरुङले बताए ।

वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकस्सी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुनेछ ।

‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न संघसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0