पोखरा  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशन आगामी माघ १० गते बिहीबार हुने भएको छ । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा आइतबार पोखरा रङ्गशालाको मिडिया सेन्टरमा बसेको कार्यसमितिको छयालीसौँ बैठकबाट अधिवेशनको मिति तय गरिएको महासचिव राजाराम पौडेलले जानकारी दिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । मञ्चमा ७४ जना खेलकुद बिटमा कलम चलाउने पत्रकार आवद्ध रहेका छन् । अधिवेशन सहभागी बन्न मञ्चमा आवद्ध सदस्यले माघ ७ गते भित्र सदस्यता नवीकरण गर्नुपर्नेछ । सदस्यता नवीकरणको लागि संयोजन गर्ने जिम्मेवारी कोषाध्यक्ष कविता घर्तीमगरलाई दिइएको महासचिव पौडेलले बताए ।

 मञ्च गण्डकीले पाँचौ साधारणसभा तथा विधान अधिवेशन मार्फत विधान संशोधन सहित जिल्ला शाखा तथा समन्वय शाखा गठन, सदस्यता प्रदान, शुद्धिकरण, नवीकरण लगायतका विषयमा मापदण्ड बनाइएको थियो । विधान संसोधन पश्चात मञ्च गण्डकीको कार्यसमितिको कार्यकाल तीन वर्षबाट दुई वर्षमा छोटिएको छ । सदस्यताको हकमा समेत केही मापदण्ड तय गरिएको छ । विधान संसोधन गर्दा कार्यसमितिमा समावेशी उपाध्यक्ष र १ जना सदस्य थप गरेर १३ सदस्यीय बनाइएकोले सोही अनुसार नयाँ नेतृत्व चयन गरिने महासचिव पौडेलले जनाए ।

मञ्चका अध्यक्ष बरालले अधिवेशनलाई भव्य बनाउन तयारी सुरु गरिएको बताए । अधिवेशनको उद्‌घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेगरी तयारी भैरहेको उनले खुलाए ।

अध्यक्ष बरालले सबैको साथका कारण आफ्नो तीन वर्षे कार्यकाल सफल रहेको सुनाए । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समाचार सामाग्रीको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषदले मञ्चलाई दिनु र प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निभाउनुलाई महत्वपूर्ण उपलब्धि मानेका छन् । यसका अलावा खेल पत्रकारलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने हेतुले अक्षयकोषको स्थापनाको सुरुवात बराल नेतृत्वको टिमले गरेको छ । विभिन्न कारणले अपेक्षाकृत रकम सङ्कलन हुने नसकेपनि अधिवेशनको दिनसम्ममा केही रकम थप्न पहल गर्ने प्रतिवद्धता उनको छ ।

 मञ्चले खेल पत्रकारको क्षमता अभिवृद्धिको लागि तालिम, नयाँ सदस्यता थप लगायत खेल क्षेत्रमा कलम चलाउने पत्रकारको हकहित र सहयोगको काम गरिरहेको अध्यक्ष बरालको भनाइ छ । सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा समेत मञ्च उतिकै सक्रिय रहेको छ । मञ्चले हरेक वर्ष भव्य समारोहबीच आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्डले खेल क्षेत्रमा अगाडि बढ्नेलाई उत्प्रेरणा दिने कार्य मात्र नगरी मञ्च प्रतिको आकर्षण बढाएको छ । अध्यक्ष बरालले मञ्चमा आवद्ध सबै सदस्यलाई समयमै सदस्यता नवीकरण गरेर मञ्चको तेस्रो अधिवेशन सफल बनाउने कार्यमा सक्रिय सहभागीता जनाउन आग्रह गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै २०७५ सालमा स्वायत्त संस्थाको रुपमा विकास गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0