पोखरा । नेपाली गजलमा देखिँदै आएको विवाद अनावश्यक रहेको पोखराका गजलकारहरूले निष्कर्ष निकालेका छन् । हालै पोखरामा आयोजित पोखरेली गजलप्रेमीहरूको भेलाले बहर वा स्वतन्त्र लयविधान जुनसुकै शैलीमा लेखिए पनि गजललाई ‘गजल’ नै भनिनुपर्नेमा जोड दिएका छन् । गैरबहरमा लेखिएका गजललाई गजल भन्न नहुने भन्दै केही समयदेखि केही गजलकाहरूले सञ्चालन गरेका अभियानप्रति कटाक्ष गर्दै भेलाले नवप्रवेशी गजलकारहरूलाई दिग्भ्रमित पार्ने त्यस्ता प्रयासको भर्त्सनासमेत गरेको छ । 

सो कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गजलमा आएको विवादले राम्रा गजलकाहरूमा समेत गजलप्रति वितृष्णा जगाएको बताए । बहरवादीहरूले स्वतन्त्र गजलप्रति गर्ने गालीगलौज र आक्षेपले नेपाली गजलको विकास नभइ विनाश गरिरहेको उनले जिकिर गरे । गजलमै विशेषज्ञता हासिल गरेका विद्वान्हरूले समेत निषेधात्मक सोच राख्नु नेपाली साहित्यकै दुःखद अवस्था भएको भन्दै उनले नयाँ सिद्धान्तको प्रतिपादक हुने लोभमा स्थापित विधाप्रति घृणा गर्नु आपत्तिजनक भएको विचार राखे । गजलको परम्परागत शाब्दिक अर्थ ‘प्रेमिकासँगको कुराकानी’ लाई मात्रै आत्मसात् गरेर लेख्ने परम्परा धेरैअघि नै तोडिएको भन्दै उनले ‘के त्यसो भए आजका दिनमा पनि महिलाले गजल नै नलेख्ने त ?’ भन्ने प्रश्न गरे । परम्परागत लयविधानमात्रै अँगालेर लेख्नुपर्ने परम्परावादी सोचले एक्काइसौँ शताब्दीका गजलकारको सोचलाई सम्बोधन गर्न नसक्ने विचार राख्दै सरुभक्तले कुन शैलीमा लेख्ने भन्ने कुरा लेखकीय स्वतन्त्रताको कुरा भएको बताए । 

कवि तीर्थ श्रेष्ठले साहित्यकारलाई कुनै वाद वा सूत्रको नियममा बाँध्ने प्रयास गर्नु मूर्खता हुने भनाइ राखे । वर्तमानमा नेपाली गजलका क्षेत्रमा स्वतन्त्र लयविधानकै गजलहरूलाई पाठक/स्रोताले आत्मसात् गरेको बताउँदै उनले शास्त्रीय बहरमा लेखिएका रचनालाई मात्रै ‘गजल’ भन्ने अतिवादी सोचको विरोध गरे । बहरमा रुचि हुनेले बहरमा लेख्दा पनि हुने र स्वतन्त्र लेखनमा रुचि हुनेले स्वतन्त्र लयविधानमा गजल लेख्न सकिने श्रेष्ठको धारणा थियो ।

 कार्यक्रमका अध्यक्ष गजलकार लक्ष्मण थापाले कतिपयलाई बहरको भूत सवार हुँदा सूत्र मिलाउने ध्यान मात्रै हुने र गजलको विचार पक्ष मर्ने गरेको उदाहरण दिए । गजलकार डा। ईश्वरमणि अधिकारीले गतिशील संसारमा साहित्य पनि गतिशील हुने र समयअनुकूल विधागत वैशिष्ट्य पनि परिवर्तन हुन सक्ने बताए । 

गजलकार दीपक समीपले आफूले पनि बहर र स्वतन्त्र लयविधान दुवैमा गजल लेख्ने गरेको अनुभव सुनाउँदै बहरमा लेख्दैमा अर्कै लोकका गजलकार बनेको अनुभव नगर्न आग्रह गरे ।

सोही अवसरमा प्रस्तुत गरिएको अवधारणपत्रमाथि विचार विमर्श गरी सातबुँदे घोषणापत्रसमेत जारी गरिएको छ । घोषणापत्रमा नेपाली साहित्यको कवितामा लोक छन्द, शास्त्रीय छन्दोबद्ध कविता लेखन परम्पराझैँ नेपाली गजलमा बहरबद्ध गजल लेखन परम्पराको संरक्षण र विकास हुनुपर्ने, प्राचीन लयविधानबाट मुक्त भइ स्वतन्त्र लयविधानयुक्त गजलको विकास हुनुलाई स्वभाविक मान्नुपर्ने, स्वतन्त्र रूपले गजल रचना गर्नु गद्य शैलीमा स्वतन्त्र रूपले कविता रचना गर्नुजस्तै एक स्वाभाविक विकास प्रक्रिया मान्नुपर्ने,शास्त्रीय बहर र स्वनिर्मित/स्वतन्त्र लयविधान दुवै शैलीमा लेखिएका गजललाई उत्तिकै सम्मान गर्नुपर्नेलगायतका बुँदा समेटिएका छन् । सातबुँदे घोषणापत्र सहितको यो निष्कर्षले नेपाली गजल क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0