पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह, संरक्षण क्षेत्र र सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यका विषयमा अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए ।
पौडेलले संरक्षण क्षेत्र र स्थानीय तहबीच प्रभावकारी समन्वय स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । पौडेलले क्षेत्राधिकार लगायत अन्य सरोकारका विषयमा देखिएको अन्यौलता निराकरण गर्न कार्यक्रम फलदायी भएको बताए ।
नेपाल सरकार ,प्रदेश सरकार , स्थानीय तह र संरक्षण क्षेत्रको अप्रभावकारी र नतिजामुखी परिणाममा कार्यक्रम फलदायी भएको उल्लेख गरे। नियम र कानुन कडाइका साथ कार्यान्वयन गर्नुको विकल्प नभएको भन्दै प्रमुख पौडेलले नियम उल्लङ्घन गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन आग्रह गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संरक्षणका सबालमा सबै पक्ष गम्भीर हुनुपर्ने उल्लेख गर्दै निरन्तर सहयोग र सहकार्यमा जोड दिए ।
संरक्षण क्षेत्रमा हुने कुनै पनि कानुन विपरीतका काम हुन नदिन स्थानीय सहित सरोकारवालाहरू सजगताका साथ लागी पर्नुपर्ने भन्दै प्रजिअ पाण्डेले आगलागी र अन्य मानव सृजित विपत्ती नियन्त्रणमा जोड दिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका बन संरक्षण अधिकृत बाबुलाल तिरुवाले संरक्षण क्षेत्रको वर्तमान अवस्था र स्थानीय तह सँगको समन्वय र सहकार्यका विषयमा अवधारणा पत्र पेश गरेका थिए।
कार्यक्रममा कास्कीका पालिका प्रमुख सहित बन कार्यालय र सम्बन्धित सरोकारवाला कार्यालय प्रमुखको उपस्थिति रहेको थियो।।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप- प्रमुख सरिता माल र सञ्चालन शाखा अधिकृत झबिश्वर रेग्मीले गरेका थिए ।