पोखरा । सक्षम, स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको अवधारणालाई कार्यान्वयन गर्नका लागि न्यायाधीश नियुक्तिमा पारदर्शिता हुनुपर्नेमा पोखरामा शुक्रबार भएको एक कार्यक्रममा कानुनविद्हरूले जोड दिएका छन् ।
न्यायाधीश हुनका लागि न्यायिक मन र न्यायिक बिचार बोकेको व्यक्ति हुनुपर्नेमा जोड दिदैँ न्याय परिषद्लाई लोकतान्त्रिक विधि र पद्धति अनुरूप त्यस्ता न्यायाधीश सिफारिस गर्न समेत सुझाव दिइएको छ ।
कार्यक्रममा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन गण्डकी प्रदेशको प्रादेशिक भेलामा बोल्दै सो संस्थाका केन्द्रिय अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सिताराम केसीले न्यायलयप्रति जनआस्था घट्दै गएको प्रति चिन्ता व्यक्त गरे। उनले आगामी चैत महिनामा हुने नेपाल बारको महाधिवेशन र नेपाल कानुन व्यवसायिक परिषद्को निर्वाचनमा डि.एल.ए ले एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिए ।
त्यसैगरी नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले नेपाली काँग्रेसकै नेतृत्वमा संविधान आएको र स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुरूप न्यायपालिकाको साखलाई अगाडि बढाउन अदालत मात्र नभई सो क्षेत्रमा काम गर्ने सरोकारवालाहरूको पनि सहयोग आवश्यक रहेको बताए।
वरिष्ठ अधिवक्ता एवं गण्डकी प्रदेश पूर्व प्रदेश प्रमुख बाबुराम कुँवरले विधिले शासन गर्ने पद्धति नै लोकतान्त्रिक पद्धति भएकाले समस्याको समाधान पनि लोकतान्त्रिक पद्धतिबाट गर्नुपर्ने भनाई राखे ।उनले शान्ति र सुव्यवस्था विकासका आधार भएकाले यसलाई खलबल्याइयो भने विकासका पूर्वाधारहरू समेत प्रभावित हुने बताए।
त्यसैगरी वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेले सैद्धान्तिक अवधारणा स्पष्ट नभएमा पेशागत सङ्गठनहरूले मूर्तरूप लिन नसक्ने र अराजकता बढ्दै जाने बताए ।
वरिष्ठ अधिवक्ता यदुनाथ खनालले न्यायपालिकाप्रति जनतालाई विश्वास दिलाउन कानुन व्यवसायीहरू मात्र नभई नागरिक समाजको पनि भूमिका त्यत्ति नै आवश्यक रहेको बताए। उनले बारको निर्वाचनको बारेमा बोल्दै डिएलए एक्लै चुनावमा जानुपर्ने धारणा राखे ।
वरिष्ठ अधिवक्ता योगेन्द्र अधिकारीले डि.एल.ए जस्ता सङ्गठनहरूलाई राजनीतिक पार्टीहरूको दबाबमा राख्न नहुने बताए ।
संस्थाका अध्यक्ष भुमिश्वर गौतमको अध्यक्षतामा सम्पन्न सो भेलामा वरिष्ठ अधिवक्ताहरू भरतप्रसाद खरेल, मुकुन्द अर्याल, जगन्नाथ ढकाल, विष्णु मर्सानी, रोहितराज बास्तोला, राजेश्वर अधिकारी, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, अग्रज कानुन व्यवसायी रामचन्द्र त्रिपाठी, दयाराम गौतम, कपिलमणि दाहाल, गणेश अधिकारी, कृष्ण तिमिल्सिना, डिएलए कास्की अध्यक्ष कमलापति शर्मा, अधिवक्ताहरू चन्द्रकान्त वाग्ले, प्रवास पराजुली, केशव भट्टराई, कृष्ण गुरुङ, बाबुराम अर्याल लगायतका कानुन व्यवसायीले नेपाल बारको महाधिवेशनको बारेमा बोल्दै डिएलएले कसैसँग गठबन्धन नगरी निर्वाचनमा जान सुझाव राखेका थिए ।
सोही भेलामा नेपाल पत्रकार महासंघको हाल सम्पन्न निर्वाचन मा गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित भएका अधिवक्ता रमेश पौडेललाई डिएलएले सम्मान गरेको छ । सो सम्मान डिएलएका केन्द्रिय अध्यक्ष सिताराम केसीले गरेका थिए । अध्यक्ष पौडेल नेपाल उच्च बार अदालत पोखरा र डिएलएको सञ्चार संयोजक हुन् ।