पोखरा । नेपाल बार एशोसिएसनको ५० औँ कार्यकारिणी समितको बैठक पोखरामा बस्ने भएको छ । सोमबार बस्ने बैठकको सम्पूर्ण तयारी पुरा भएको एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आइतबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । बैठकमा देशभरबाट १ हजार जना प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष घिमिरेले बताए ।
पोखरा इभेन्ट सेन्टर बुलौदीमा हुने औपचारिक कार्यक्रम अगाडि प्रभातफेरिको समेत आयोजना हुनेछ । बैठकमा नेपाल बार एशोसिएसनले उठाएको न्यायपालिकाको पुनसंरचना सम्बन्धी एजेन्डाको विषयमा विस्तृत छलफल हुने अध्यक्ष घिमिरेको भनाइ छ । यो एजेन्डालाई एशोसिएसनको १६ औं राष्ट्रिय सम्मेलनबाट घोषणापत्र जारी गरी गत जेठमा पास गरेको र अब कार्यान्वयनको चरणमा रहेको उनले खुलाए ।
न्याय परिषदले न्याय परिषद ऐन अन्तरगत बनेको नियमावलीमा २०८० साल असोज १ गते भएको संशोधन गैर संवैधानिक संशोधन भएको भन्दै त्यसले संविधानको धारा १४१ को १ (३) लाई संशोधन गरिदिएको अध्यक्ष घिमिरेले बताए ।
नेपालका न्यायालयमा रहेका न्यायाधीशको मर्यादाक्रममा व्यापक उथलपुथल बनाइदिएको उनले दावी गरे । आफूले चाहेका मानिसलाई टपक्क टिपेर माथिल्लो न्यायाधीशमा नियुक्त गर्ने व्यवस्था गरिदिएको कारण अहिले न्यायिक जगतमा व्यापक असन्तुष्टि रहेको उनले भनाइ थियो । यो विषयमा समेत बैठकमा छलफल हुनेछ ।
यसैगरी बार एशोसिएसनले मानव अधिकार सम्बन्धी गोष्ठीको समेत आयोजना गरेको छ । गोष्ठी मङ्गलबार पोखरा इभेन्ट सेन्टर बुलौदीमा हुने नेपाल बार एशोसिएसनको महासचिव अन्जिता खनालले जानकारी दिइन् ।