पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङ्गेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी पुरा भएको छ । कोटीहोमको सोमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्‌घाटन गर्ने कार्यक्रम तय भएको छ । 

अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा मंसिर १७ देखी २७ गतेसम्म कोटिहोम हुन लागेको हो । ढुङ्गेसाँघु, पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटमा आयोजना गरिएको कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरि भव्य सजावट गरिएको छ । कोटिहोम उद्‌घाटन पहिले बिहान १० बजे पोखरा महानगरपालिका वडानम्बर १५ कार्यालय अगाडिबाट कलश यात्रा सुरु हुने धामका अध्यक्ष मदन गिरीले जानकारी दिए । 

वडा कार्यालय अगाडिबाट सुरु हुने कलश यात्रा राधेराधे मन्दिर, रामबजार, घलेचोक, टुटुङगा, नयाँगाउँ, बनक्याम्पस, किन्तपुरचोक, ढुङ्गेसाँघु चोक, हुदैँ पट्नेरी धाममा पुग्नेछ । दिउँसो १ बजे प्रदेश प्रमुख भट्टले कोटीहोमको उद्‌घाटन गर्ने छन् । 

कोटिहोमका प्रमुख बाचक, धामका संरक्षक, यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल पोखरा आइसकेका छन् । कोटिहोममा १५ भन्दा बढि बाचकलाई निम्ता गरिएको आयोजकले जनाएको छ । धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए ।

 यसअगाडि मंसिर ८ गते कोटिहोमका प्रमुख बाचक, धामका संरक्षक, यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास)पोखरा आउँदा अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भव्य स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0