पोखरा । ३७ औं विश्व एड्स दिवस पोखरा मनाइएको छ । दिवसको अवसरमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा तथा गण्डकी प्रदेशमा एचआइभी एड्स तथा यौन रोग नियन्त्रणका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा “एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ “ मूल नाराका साथ विविध कार्यक्रम गरिएको हो ।
पोखराको बसुन्धरापार्कमा आयोजना गरिएको विश्व एड्स दिवसको औपचारिक कार्यक्रमको स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा खिम बहादुर खड्काको अध्यक्षतामा भएको थियो । दिवसका अवसरमा आयोजना भएको कार्यक्रमले एचआइभी संक्रमितलाई बिना भेदभाव नेपालको संविधानले प्रदत्त गरेको गुणस्तरीय स्वास्थ्य सेवाको पौँच सुनिश्चित गर्ने विश्वास उनले गरे ।
३७ औं विश्व एड्स दिवस मनाउनका लागि स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय र पोखरा महानगरपालिका को स्वास्थ्य महाशाखाको समन्वय तथा सहकार्य तथा गण्डकी प्रदेशमा एचआइभी एड्स तथा यौन रोग नियन्त्रणमा क्रियाशील सङ्घसंस्थाहरूले प्रदेशमा विभिन्न कार्यक्रम गरेर दिवस मनाएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत कमल रानाभाटले जानकारी दिए ।
गण्डकी प्रदेशमा अनुमानित एच.आइ.भी. सङ्क्रमितहरूको संख्या ३ हजार ६ सय ९५ रहेको छ । गत असार २०८१ को तथ्याङ्क हेर्दा प्रदेशमा २ हजार ९ सय ६८ जना एच.आई.भी. सङ्क्रमितहरूले एन्ट्रि रेट्रो भाइरल (ए.आर.टी) उपचार लिइरहेको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
यस प्रदेशमा जना एच.आई.भी. सक्रमितहरूलाई लक्षित गरेर ९ जिल्लामा घर तथा समुदायमा आधारित हेरचाह तथा सहयोग कार्यक्रम र समुदायमा आधारित हेरचाह केन्द्र सञ्चालनमा रहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको ए.आर.टी सेन्टर मार्फत गत असार मसान्तसम्म १ हजार ५ सय १७ जनाले ए.आर.टी सेवा लिएका छन् । यसरी सेवा लिनेमा ८ सय ९८ जना कास्की जिल्लावासी रहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशका सबै जिल्लामा १८ वर्ष मुनिका जना एच.आई.भी. सङ्क्रमित बालबालिकालाई लक्षित गरेर सेभ द ग्लोबल फन्डको श्रोत र साझेदार संस्था मार्फत मासिक ज्ञ हजार प्रदान गरिने गरिएको छ । यो कार्यक्रमको लागि हालसम्म २ सय ९९ बच्चाहरू दर्ता भएकोमा १ सय ५१ जनाको उमेर १८ वर्ष नाघिसकेको छ भने १७ जनाको मृत्यु भैसकेको छ । हाल प्रदेशमा मासिक भत्ता पाउने बच्चाहरूको सङ्ख्या १ सय २७ रहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा साझेदार सहयोगी संस्था मार्फत एच.आई.भी. को जोखिममा रहेका समुदाय, समलिङ्गी, तेस्रो लिङ्गी, सुईद्वारा लागू औषध प्रयोग कर्ताहरू, आप्रवासी कैदीबन्दीहरू र अन्य समुहमा पनि एच.आई.भी. जाँच तथा रोकथामका सेवाहरू सञ्चालन भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
गएको आर्थिक वर्षमा यस प्रदेशमा ३७ हजार ६ सय ८ जना एच.आई.भी.को जोखिममा रहेकाहरूको परिक्षण गर्दा २ सय १० जनामा पुष्टि भएको र उनीहरू सबै उपचारमा रहेका छन् । ५२ हजार ४ सय ३३ गर्भवती महिलालाई जाँच गर्दा ५ जना र २ हजार ७ सय ६५ जना क्षयरोगीमा परिक्षण गर्दा ३५ जनामा एच.आई.भी. पुष्टि भएको निर्देशनालयले जनाएको छ ।