पोखरा । कोपिला नेपालको आयोजनामा यातना पीडितका सबालमा सरोकारवालाहरूको भूमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए ।
पौडेलले यातना पीडितहरूका समस्या सम्बोधन गर्न राज्य का निकाय उदासिन हुन नहुने भन्दै उनीहरूको पुनर्स्थापना र सहयोगमा तिनै तहका राज्यका निकायहरूलाई नीति तथा कार्यक्रम तयार गर्न अनुरोध गरे। सरोकारका विषयमा भएका कानुनी र व्यवहारिक जटिलता तत्काल सम्बोधन गरेर इमान्दारिताका साथ सबै लाग्नु पर्ने पौडेलको भनाइ थियो।
प्रमुख पौडेलले यातना पीडितका मानसिक समस्यालाई उपचार गर्ने सन्दर्भमा आफूले विभिन्न तहका सरकारलाई पटक पटक ध्यानाकर्षण गराएको उल्लेख गर्दै गण्डकी प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउन गत आर्थिक वर्षमा जिल्ला सभा मार्फत पालिकाहरू सहित प्रदेश र सङ्घ सरकारलाई आग्रह गरिएको बताए ।
यातना पीडित महिला तथा बालबालिकाहरूको पुनर्स्थापनाका लागि पोखरा महानगर वडा न ३३ को आमाचौरमा निर्माणाधीन पुनर्स्थापना केन्द्र अलपत्र परेको उल्लेख गरे । राज्यको करोडौँ रुपैयाँ खर्च भैसकेको उक्त केन्द्र सञ्चालन गर्न जिल्ला समन्वय समितिबाट पटक पटक प्रदेश सरकार र पोखरा महानगरको ध्यानाकर्षण गरायौँ तर तीन वर्ष देखि बिनियोजित बजेट समेत उपयोग हुन सकेन पौडेलले बताए।
उक्त पुनर्स्थापना केन्द्र तत्काल सञ्चालनको वातावरण बनाउनेतर्फ केन्द्रीत हुन पौडेलले आग्रह गरे । कार्यक्रममा यातना पीडित समाज गण्डकी प्रदेशका उपाध्यक्ष भरतमणी भट्टराईले आफूहरूको सरोकारका विषयमा सरकार थप गम्भीर र जवाफदेही हुनुपर्ने उल्लेख गरे।
कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपाली, गैर सरकारी संस्था महासङ्घ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेल,राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश पोखराका अधिकृत टंक खनाल, पोखरा महानगर पालिकाका बालकल्याण अधिकारी बेलकुमारी गुरुङ सहितले आ- आफ्नो भनाइ राखेका थिए ।
यातना पीडित समाज कास्कीका अध्यक्ष जयकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेकी थिइन् भने सञ्चालन कोपिला नेपालका कार्यक्रम संयोजक तीर्थ थापाले गरे ।