पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) कास्कीले चौधौँ नेशनल प्याब्सन खेलकुद महोत्सव २०८१ गर्ने भएको छ । “एनप्याब्सन कास्कीको इच्छा विद्यालय तहमा खेलकुद सहितको शिक्षा” भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको शनिबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा बोल्दै एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले खेल महोत्सवको विद्यार्थी, अभिभावक र खेलकुद प्रेमी गरेर १ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।
मंसिर २१ गतेदेखि अनौपचारिक खेल सुरु हुनेछ भने औपचारिक उद्घाटन मंसिर २५ गते पोखरा रङ्गशालामा नेपाल सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यमा भव्य कार्यक्रमको आयोजना गरेर हुनेछ । खेलकुद महोत्सवको समापन मंसिर २८ गते हुनेछ । प्रतियोगिता सञ्चालन गर्न ३५ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष अधिकारीले खुलाए ।
खेलकुद महोत्सवमा ४६ विद्यालयका ८ हजार ५ सय विद्यार्थी सहभागी बन्नेछन् । जुनियर तर्फ १ हजार १ सय ५० छात्रा र १ हजार १ सय ५० छात्र सहभागी हुनेछन् । सिनियरतर्फ ३ हजार २ सय छात्र र २ हजार ६ सय छात्राले सहभागिता जनाउनेछन् । कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले सहभागिता जनाउने अध्यक्ष अधिकारीले जानकारी दिए । प्रतियोगितामा कुल ९ सय २९ जना विद्यार्थी पुरस्कृत हुनेछन् ।
सोही कार्यक्रममा खेलकुद महोत्सवको ट्रफी अनावरण गरिएको थियो । प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ र एनप्याब्सन कास्कीका अध्यक्ष अधिकारीले ट्रफी अनावरण गरे । अनावरण पश्चात आफ्नो भनाइ राख्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष गुरुङले नयाँ खेलाडी उत्पादन गर्ने एउटा आधार नै विद्यालय तह भएको बताए । विभिन्न विधाका खेल समेटेर आयोजना गरिएको यस प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले गरे ।
एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलन तथा ट्रफी अनावरण कार्यक्रममा स्वागत उपाध्यक्ष याम खड्का र सञ्चालन कार्यसमिति सदस्य शिवराज पौडेलले गरेका थिए ।